देवघाटमा जिल्ला बाहिरबाट आउनेहरु क्वारेन्टाइनमा बस्नु पर्ने
भञ्ज्याङ समाचारदाता/देवघाट

तनहुँको देवघाट गाउँपालिकामा जिल्ला तथा देश बाहिरबाट आउनेहरु अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । देवघाट गाउँपालिकाको गाउँपालिका स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले गाउँपालिकामा कोभिडको जोखिम कम गर्न जिल्ला तथा देश बाहिरबाट आउनेहरुको लगत संकलन गरी उनीहरुलाई अनिवार्य रुपमा होम क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।
देवघाट प्रमुख धार्मिक स्थल भएको कारण धार्मिक कार्यकालागि धेरै भक्तजनहरु आउने हुँदा धार्मिक स्थलमा दैनिक नित्य पुजा गर्ने तर नागरिकको भिडभाड हुने विवाह, ब्रतबन्ध, तालिम तथा गोष्ठी र प्रवचनका कार्यक्रमहरु सकेसम्म बन्द गर्ने तर बन्द गर्न नसकिएमा सकेसम्म थोरैको उपस्थितीमा मात्र त्यस्ता कार्यक्रमहरु सम्पन्न गर्न अनुरोध गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले सम्पुर्ण संघ सस्था, कार्यालय, व्यपारिक स्थल तथा सार्वजानिक स्थानहरुमा माक्स अनिवार्य लगाउनु पर्ने र भौतिक दुरी कायम गर्नु पर्ने निर्णय समेत गरिएको छ । कोभिड रोकथामका लागि गाउँपालिकाबाट सचेतना मुलक माईकिङ र प्रचारप्रसार गर्ने, बैंक तथा वित्तीय संस्थामा सेवाग्राहीको भिड कम गर्ने, कसैलाई कोरोना पोजेटिभ देखिए होम आईसोलेसनमा बस्ने तर स्वास्थ्य समस्या देखिए भरतपुर, दमौली र पोखराको कोभिड अस्पतालमा पायक पर्ने स्थानमा पठाउने व्यवस्था मिलाउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटाले बताए ।
गाउँपालिकामा दोस्रो चरणको पिसिआर परिक्षणमा एकजना कोरोना संक्रमित भेटिएको र उनको कन्ट्राकट्रेसिङ्गको पिसिआर बुधबार गरिने देवघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीप बुढाथोकीले जानकारी दिए । बैठकमा गाउँपालिका उपाध्यक्ष बिमला थापामगर, देवघाट ४ का वडाध्यक्ष पदम बहादुर गुरुङ, वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटा, देवघाट क्षेत्र बिकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेल, देवघार्टर् इलाका प्रहरी कार्यालयका इन्चार्ज सुशील लामिछाने लगायतले कोभिड नियन्त्रणमा सबै गाउँपालिकाबासीहरुको सहयोग आवश्यक भएको बताए ।










