भानु नगरपालिका : सुशासन, पारदर्शिता र वित्तीय अनुशासन प्रवर्द्धनका लागि कार्ययोजना

भानु : तनहुँको भानु नगरपालिकाले सुशासन, पारदर्शिता, वित्तीय अनुशासन र जवाफदेहिता सुदृढ पार्ने उद्देश्यले विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ । नगरपालिकाको सार्वजनिक सेवा तथा क्षमता विकास समितिको सिफारिसमा तयार गरिएको उक्त योजना नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको समन्वयमा लागू गरिने भएको छ ।
नगरपालिकाले यस कार्ययोजनालाई “ईमानदार प्रशासन, पारदर्शी प्रक्रिया र उत्तरदायी सेवा” भन्ने मूल नाराका साथ अघि बढाउने सुशान समितिका संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष खुम प्रसाद श्रेष्ठ बताए। उनका अनुसार सुशासन प्रवद्र्धनका लागि सेवा प्रवाहमा सुधार, वित्तीय अनुशासनमा मजबुती, आचारसंहिता कार्यान्वयन र अनुगमन संयन्त्रलाई प्राथमिकतामा राखिएको छ ।
आचारसंहिता कार्यान्वयन र भ्रष्टाचारमाथि शून्य सहनशीलता
नगरपालिकाले सबै जनप्रतिनिधि र कर्मचारीका लागि आचारसंहिता कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । तोकिएको कार्यालय समयमा अनिवार्य उपस्थिति, सेवाग्राहीसँग सभ्य व्यवहार र व्यक्तिगत स्वार्थमा आधारित निर्णयमा प्रतिबन्ध लगाउने गरी आचारसंहिता तयार भएको प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले जानकारी गराए ।
नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको प्रत्यक्ष निगरानीमा आचारसंहिता उल्लंघन गर्ने कर्मचारी वा जनप्रतिनिधिमाथि कारबाहीको व्यवस्था गरिएको छ भने अनियमितता र भ्रष्टाचारमाथि ‘शून्य सहनशीलता’ नीति अपनाइने नगरपालिकाले जनाएको छ ।
सेवा प्रवाहमा सहजता र डिजिटल प्रणालीको विस्तार
यस्तै, नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै नगरपालिकाले वडास्तरमै ‘घुम्ती सेवा’ सञ्चालन गर्ने तयारी गरेको छ । टाढा र दुर्गम बस्तीका नागरिकका लागि दर्ता, सिफारिस, कर भुक्तानीलगायतका काम सहज बनाइने भएको छ ।
नगरपालिकाका सबै वडामा दर्ता–चलानी सफ्टवेयर अनिवार्य रूपमा लागू गरिने र ई–गभर्नेन्स प्रणालीमार्फत सेवा प्रवाहका समयसीमा स्पष्ट तोकिने तयारी गरिएको र नागरिक वडापत्रमा तोकिएका मापदण्ड र समयसीमाको पूर्ण पालना नगरपालिकाको अनिवार्य दायित्व हुने बताइएको छ ।
वित्तीय अनुशासन र पारदर्शी खर्च प्रणाली
भानु नगरपालिकाले वित्तीय व्यवस्थापनमा पारदर्शिता र मितव्ययिता कायम राख्ने नीति लिएको छ। अनावश्यक प्रशासनिक खर्च कटौती गर्दै विकासमुखी खर्चमा प्राथमिकता दिने निर्णय गरेको नगरपालिकाले बेरुजु न्यूनीकरण अभियानलाई तीव्रता दिँदै सार्वजनिक खरिद प्रक्रियामा ई–प्रोक्योरमेन्ट प्रणाली लागू गर्ने भएको छ ।
त्यस्तै, प्रत्येक आयोजना, ठेक्का सम्झौता, खर्च विवरण र प्रगति प्रतिवेदन नियमित रूपमा नगरपालिकाको सूचना पाटी र वेबसाइटमा सार्वजनिक गरी आन्तरिक नियन्त्रण प्रणाली सुदृढ पार्दै हरेक शाखाको साप्ताहिक अडिट गरिने व्यवस्था पनि गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी गराए ।
कार्यशैली सुधार र कर्मचारी क्षमतावृद्धि
नगरपालिकाले कर्मचारीहरूलाई परिणाममुखी तालिम प्रदान गर्ने र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कार दिने नीति ल्याएको छ। नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखबीच कार्यसम्पादन सम्झौता गरिनेछ, जसको त्रैमासिक मूल्याङ्कन हुने बताइएको छ । आचारसंहिता उल्लंघन गर्ने कर्मचारी वा जनप्रतिनिधिमाथि चेतावनीदेखि विभागीय कारबाहीसम्मका मापदण्ड लागू हुने नगरपालिकाले जनाएको छ ।
अनुगमन संयन्त्र र जवाफदेहिता
यस्तै, सुशासन प्रवर्द्धनका लागि प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा ‘गभर्नेन्स प्रोमोशन कमिटी’ गठन गरिने भएको छ । यसले आचारसंहिता कार्यान्वयन, वित्तीय व्यवहार र सेवा प्रवाहको गुणस्तरको नियमित अनुगमन गर्नेछ । उल्लंघनका घटनामा सम्बन्धित व्यक्तिमाथि कारबाही सिफारिस गर्ने अधिकार उक्त समितिलाई दिइने भएको छ ।
त्यस्तै, नगरपालिकाको आन्तरिक नियन्त्रण इकाईले लेखापरीक्षण, पूर्व–जाँच र जोखिम विश्लेषण गर्नेछ । नगर प्रमुख र उपप्रमुखको उपस्थितिमा त्रैमासिक रूपमा उच्चस्तरीय समीक्षा बैठक आयोजना गर्ने नीति नगरपालिकाले ल्याएको छ ।
नागरिक सन्तुष्टि र प्रत्यक्ष संवाद प्रणाली
सेवाग्राहीको सन्तुष्टि मापनका लागि फिडब्याक कार्ड र अनलाइन सर्वे प्रणाली लागू गर्ने जनाएको नगरपालिकाले प्रत्येक वडामा गुनासो पेटिका स्थापना गरी नागरिकले अनलाइनमार्फत पनि गुनासा पेश गर्न सक्ने व्यवस्था मिलाउने भएको छ ।
त्यस्तै, “हेलो मेयर÷पिएओ कार्यक्रम” सुरु गर्ने, जसअन्तर्गत नगर प्रमुख वा प्रमुख प्रशासकीय अधिकृतले प्रत्यक्ष नागरिकसँग संवाद गरी समस्या सुन्ने र तत्काल समाधानका पहल गर्ने व्यवस्था गरिने जनाइएको छ ।
पारदर्शी मूल्याङ्कन र पुरस्कार प्रणाली
यस्तै, कर्मचारी मूल्याङ्कन प्रणालीलाई नतिजामुखी बनाउँदै नगरपालिकाले कार्यसम्पादन, समयपालना र आचारसंहिता पालनाका आधारमा वार्षिक मूल्याङ्कन गर्ने नीति अपनाएको छ । उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा वा कर्मचारीलाई “उत्कृष्ट शाखा÷कर्मचारी पुरस्कार” प्रदान गरिने भएको छ ।
प्रत्येक आर्थिक वर्षको अन्त्यमा नगरपालिकाले “सुशासन प्रतिवेदन” प्रकाशन गर्ने र जसमा वार्षिक उपलब्धि, वित्तीय पारदर्शिता तथा सेवा प्रवाहको अवस्था समेटिने जनाइएको छ । नगर प्रमुख त्रिपाठीका अनुसार, भानु नगरपालिकाले सार्वजनिक गरेको यो नीति केवल कागजी दस्तावेज नभई व्यवहारमै सुशासन लागू गर्ने प्रारम्भिक कदमका रुपमा अगाडि बढाइने छ ।
‘हामी पारदर्शिता, जवाफदेहिता र सेवा सुधारतर्फ गम्भीर रूपमा उन्मुख भएका छौँ’, नगर प्रमुख आनन्दराज त्रिपाठीले भने, ‘अब नगरवासीले सेवा अनुभवमै परिवर्तन महसुस गर्नेछन् । सुशासन र वित्तीय अनुशासन प्रवद्र्धनका लागि विस्तृत कार्ययोजना सार्वजनिक गर्ने भानु नगरपालिका गण्डकी प्रदेशकै पहिलो स्थानीय तहमध्ये एक बनेको छ ।’










