तनहुँमा छ सय उम्मेद्वारको जमानत जफत
भञ्ज्याङ समाचारदाता/दमौली

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा तनहुँका छ सय जना उम्मेदवारको जमानत जफत भएको छ । सदर मतको दश प्रतिशत मत पनि ल्याउन नसक्ने उम्मेद्वारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
यसरी जमानत जफत हुनेमा साना राजनीतिक दलबाट उम्मेद्वार बनेका छन् भने कतिपय उम्मेद्वार आफुले समेत मत नदिदा मत परिणाम शुन्यको अवस्था पनि रहेको छ । सबै भन्दा धेरै व्यासनगरपालिकामा १६० र सबैभन्दा कम बन्दिपुर गाउँपालिकामा २० जना उम्मेद्वारको जमानत जफत भएको जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले बताए ।
यस्तै, जिल्लाको भानु नगरपालिकामा १४२, शुक्लागण्डकीमा ६३, म्याग्देमा ४५, देवघाटमा ३१, आँबुमा २९, ऋषिङमा २८, भिमादमा २७ र घिरिङ गाउँपालिकामा २४ जना उम्मेद्वारको जमानत जफत भएको छ ।
निर्वाचन कार्यालयका अनुसार जिल्ला समन्वय समितिका प्रमुख उप्रमुखका लागि दुइ हजार, जिल्ला समन्वय समिति सदस्यका लागि एक हजार पाँच सय रुपैयाँ उम्मेद्वार शुल्क कायम गरेको थियो ।
त्यसैगरी, प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको लागि एक हजार पाँच सय, वडाध्यक्षको लागि एक हजार र वडासदस्यका लागि पाँच सय रुपैयाँ उम्मेद्वारी शुल्क व्यवस्था गरिएको थियो । तनहुँका दश पालिकामा एक हजार ६३७ जना उम्मेद्वारले उम्मेद्वारी दिएका मध्ये ४४५ उम्मेद्वार निर्वाचित भएर आएका छन् ।
तनहुँमा बिसं ०७४ सालको स्थानीय तहको निर्वाचनमा एक लाख ९४ हजार ४७१ मत खस्दा तीन हजार १५४ मत पूर्ण बदर भएको थियो । त्यसैगरी, ०७९ को निर्वाचनमा एक लाख ५७ हजार १८५ मत खस्दा दुइ हजार ८३८ मत पूर्ण बदर भएको कार्यालयले जनाएको छ ।










