बन्दिपुरमा शिक्षा, स्वास्थ्य, खाद्यका सवालबारे सार्वजानिक सुनुवाई
भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिकामा स्थानीय तहको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारेमा सार्वजानिक सुनुवाई कार्यक्रम गरिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँले आयोजना गरेको उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले संविधानले नै मौलिक हकको रुपमा समावेश गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारलाई नीति तथा कार्यक्रममा प्रथामिकताका साथ राखेर कार्यान्वयन गरिने बताए ।
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषय मौलिक हक मात्र नभएर नागरिकका आधारभुत अधिकार पनि भएको हुँदा गाउँपालिकाले पनि यसलाई उच्च प्राथमिकतामा राख्ने अध्यक्ष थापाले बताए । उनले भने, ‘गाउँपालिकामा अहिले नयाँ नेतृत्व आएको र आगामी वर्षो नीति तथा कार्यक्रम तयारीकै चरणमा रहेको हुँदा विगतको नीति तथा कार्यक्रम अध्ययन गरेर अझ समेट्न सकिने विषयलाई थप गर्र्छौ ।’
यस्तै, गाउँपालिकाकी उपाध्यक्ष पन्चमाया गुरुङले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवाललाई प्राथमिकतामा राखेर नीति बनाइने बताइन् । नीति बनाउँदा इन्सेक र मानवअधिकार समुहसँग पनि सुझाव मागिने उपाध्यक्ष गुरुङले बताइन् । प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले संविधानको मौलिक हकमा उल्लेख भएको विषयलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेर नीति बनाउने बताए ।
मानवअधिकार समुह बन्दिपुरकी संयोजक शान्ती कुँवरको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमाले बन्दिपुर गाउँ कमिटीका सचिव कुलेन्द्र गौतम, नेपाली काँग्रेस बन्दिपुर गाउँ कार्य समितिका सभापती कर्णबहादुर खत्री, नेकपा माओवादी केन्द्रका गाउँ कमिटी उपाध्यक्ष लोकबहादुर बानीया, राप्रपाका गोबर्धन भट्टराइ लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए।
कार्यक्रममा शिक्षा शाखाका प्रुमुख विष्णु केसी, स्वास्थ्य शाखाका प्रम्ख अन्जिर भट्टर्राई र कृषि शाखाका प्राविधिक शुनिल श्रेष्ठले सम्बन्धित क्षेत्रमा भएको नीति र कार्यान्वयनको अवस्थाका विषयमा सहजिकरण गरेको इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टर्राईले बताए ।










