बैंक र नगरपालिकाको लापरवाहीले भानुका लाभग्राहीले सामाजिक सुरक्षा भत्ता पाउन सकेनन्
डिपि अधिकारी/डुम्रे

तनहुँको भानु नगरपालिकाका ३ वटा वडाका लाभग्राहीहरु सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएका छन्। नगरपालिकाको वडा नं. ३, ७ र १० का लाभग्राहीले दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता हालसम्म पाउन नसकेका गुनासो गर्न थालेका छन् ।
अहिले तेस्रो अर्थात अन्तिम चैमासिकको पनि तेस्रो महिना लागिसक्दा समेत बैंकले समयमै भत्ता वितरणमा चासो नदेखाउँदा लाभग्राहीले दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता समेत पाउनबाट बञ्चित भएका छन् ।
यी वडामा एनएमबी बैंक तुरतुरे शाखाले सामाजिक सुरक्षा वितरणको जिम्मा लिएको छ । समयमै भत्ता वितरणमा बैंकले चासो नदेखाउँदा लाभग्राहीले समस्या झेल्नुपरेको भानु-३ का वडाध्यक्ष दल नारायण श्रेष्ठले बताए ।
‘बैंकको कारणले लाभग्राहीले अहिलेसम्म दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता पाउन नसकेका हुन्’, उनले भने, ‘ढिला होला भनेर हामीले बेलैमा विवरण बुझाएका थियौं, २/४ जनाको विवरण गल्ती भयो भनेर कसैको पनि रकम दाखिला गर्न नमाने पछि बैशाख ३/४ गते विवरण सच्याएर पठायौं तर बैंकले ढिला गरिदियो ।’
यस्तै, वडा नं. ७ का वडा अध्यक्ष रामकृष्ण देवकोटाले पनि बैंककै कारण लाभग्राहीले दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता पाउन नसकेको बताए । बैंकले शुरुमा सम्भौता हुँदा समयमै र वडास्तरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भनिएता पनि अहिले आएर बैंकले अटेरी गरेको उनको गुनासो छ ।
भानु नपाको वडा नं. ३, ७ र १० का लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै अएको एनएमबी बैंक तुरतुरे शाखाका प्रमुख प्रविण कुमार श्रेष्ठले वडा कार्यालयले ढिला गरी विवरण ल्याउने र विवरणमा त्रुटि रहेकाले समयमै वितरण गर्न नसकिएको बताए ।
अहिले निषेधाज्ञाका बेला बैंकिङ कारोबार बन्द रहेकाले ढिला हुन पुगेको र विवरण मिलेका लाभग्राहीहरुको खातामा रकम दाखिला भैसकेको शाखा प्रमुख श्रेष्ठले बताएका छन् । अवस्था सहज भएपछि दैनिक १५/१५ जनाका दरले भत्ता वितरण गर्ने बैंकले गरेको भन्दै उनले वडास्तरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न भने नसकिने बताएका छन् ।
यस विषयमा नगरप्रमुख उदयराज गौलीले समयमै पाउनु पर्ने रकम लाभग्राहीले नपाउँदा आफुलाई दुःख लागेको भन्दै अबको दिनमा कहाँबाट कमिकमजोरी भएको हो त्यसलाई सच्याएर लैजाने प्रतिवद्धता जनाए । भानु नगरपालिकाको वडा नं. ३ मा ३६२ जना, वडा नं. ७ मा ५४७ जना र वडा नं. १० मा ६१० जना लाभग्राही छन् । उनीहरुले प्राप्त गर्ने रकम करिब १ करोड ३८ लाख हुने नगरपालिकाका आईटि इञ्जिनियन अजन्ता ढकालले बताइन् ।










