तनहुँको बन्दिपुरमा नमूना युवा गाउँसभा अभ्यास
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिले चार दिवसीय नमूना युवा गाउँसभा अभ्यास गरेको छ । गाउँपालिकाका ६ वटै वडाबाट आएका १६-२४ वर्ष उमेर समूहका २४ जना युवाहरू सहभागी उक्त गाउँसभा अभ्यास कार्यक्रम शनिबार सम्पन्न गरिएको छ ।
युवाको नेतृत्व क्षमता विकास गरी राज्यको मूल प्रवाहीकरणमा समावेश गराउने उद्देश्यले आयोजित उक्त सभामा युवाहरूले व्यवस्थापकीय अभ्यास अन्तर्गत एक नमूना र उदाहरणीय काम गरेका छन् ।
युवा भविष्यका कर्णधार मात्र हैनन्, वर्तमानका साझेदार पनि हुन् भन्ने मान्यताका साथ युवाले राज्य सञ्चालन प्रक्रिया, कानुन बन्ने विधि र पद्धति, स्थानीय तहमा वस्तीस्तरका योजना निर्माणका चरणहरू, समस्याको पहिचान र विश्लेषण, योजनाको प्राथमिकीकरण, वाषिर्क नीति तथा कार्यक्रम र बजेट निर्माण, विधेयकको तयारी र पारित गर्ने प्रक्रिया तथा जनताका सरोकारका विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी जनताको पक्षमा काम गर्ने जस्ता असल जनप्रतिनिधिहरूको भूमिका निर्वाह गरेका थिए ।
अवसर पाएमा युवाहरूले धेरै राम्रो काम गर्न सक्छन् भन्ने उदाहरण सहभागि युवाहरुले देखाएको प्रशिक्षक एवं भानु नगरपालिकाका शिक्षा अधिकारी ध्रुवराज पौडेलले बताए । अभ्यास सभाको समापन गर्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा लगायतका जनप्रतिनिधिहरू, स्थानीय बुद्धिजीवी समाजसेवी, राष्ट्रसेवक कर्मचारीहरू तथा स्थानीय नागरिक समाजका अगुवाहरूको उपस्थितिमा युवाहरूले एक जीवन्त गाउँसभा सञ्चालन गरेको प्रशिक्षक पौडेलले बताए। उनले भने, ‘युवाहरूको प्रतिभा र प्रस्तुतीकरण देखेर उपस्थित जनप्रतिनिधि तथा अभिभावकहरूलाई प्रभावित बनाउन सफल भएका थिए ।’
यस्तै, कार्यक्रमको समापन गर्दै गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले युवाहरूको प्रतिभाको मुक्त कण्ठले प्रशंसा गर्दै नमूना युवा गाउँसभामा पेश भएको वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यबाट आँफूले धेरै कुरा सिकेको, कतिपय कुरा यसले आँफूलाई स्मरण गराएको र युवा वर्ग र आम जनताको वास्तविक समस्या र अपेक्षा बुझनका लागि यस दस्तावेज मार्गदर्शक बनेको बताए ।
उनले आगामी असार १० गते हुने तेह्रौं गाउँसभामा युवाहरुले उठाएको नीति तथा कार्यक्रमहरू समावेश गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । उनले भने, ‘आगामी दिनमा पनि यस्ता युवालक्षीत कार्यक्रमलाई निरन्तरता दिने र युवाको क्षेत्रमा लगानी बढाउन आफू सधैं सकारात्मक रहेको छु ।’ उक्त कार्यक्रमका अवसरमा गाउँपालिका स्तरीय युवाक्लब सञ्जाल पनि गठन गरिएको थियो ।










