नदी किनारा, घाट तथा मन्दिरमा भेला नहुन तनहुँ प्रशासनको अनुरोध

जिल्ला प्रशासन कार्यालय तनहुँले मंगलबार जरुरी सूचना जारी गर्दै नदी किनारा, घाट तथा मन्दिरमा भेला नहुँन अनुरोध गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिम जिल्लामा पनि दिन प्रतिदिन बढिरहेको संक्रमणलाई मध्यनजर गर्दै हरिबोधनी एकादशी लगायतका पर्वहरुमा नदि किनारा, घाट तथा मन्दिरमा भेला भएर पुजा नगर्न जिल्ला बासीमा अनुरोध गरेको हो।
पर्वहरुमा हुने मानिसहरुको जमघटका कारण कोरोना भाइरको संक्रमण फैलिन सक्ने जोखिम रहेकोहुँदा भिडभाड हुने खालका गतिविधिहरु नगर्न जिल्ला बासीमा अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । उनले भने, ‘कोरोना संक्रमणलाई थप फैलिन नदिई सावधानी अपनाउन र सचेत रहनका लागि हरिबाधनी एकादशी लगायतका पर्व मनाउँदा नदी किनारा, घाट तथा मन्दिरहरुमा उपस्थित नभई आ-आफ्नै घर परिवारमा मात्र सीमित रही मनाउन, हिड्डुल तथा भिडभाड कम गर्न, मेला नगर्न/नगराउन जिल्लाबासीमा अनुरोध गरिएको हो।’
यस्तै केही व्यवसाय, व्यक्ति, संघ संस्था तथा सरकारी कार्यालयहरुमा समेत सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना कमी भैरहेको देखिएकाले कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि स्वास्थ्य मापदण्ड अनुसार सामाजिक भौतिक दुरी कायम गर्ने, अनिवार्य रुपमा माक्स लगाउने, नियमित रुपमा सावुन पानीले पटकपटक हात धुने वा स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरिएको छ ।
सवारी साधनहरुमा सरकारले तोकेको मापदण्ड भन्दा बढी यात्रु नराख्ने जस्ता न्यूनतम स्वास्थ्य र सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी बरालले भने, ‘यदि सुचनाको अवज्ञा गरिएको पाइएमा संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानून बमोजिम कारबारी हुने छ।’










