घरदैलोमा पुगेर स्वास्थ्य अवस्था बुझ्दै संक्रमितलाई हौसला बढाउँदै देवघाटका गाउँपालिका अध्यक्ष थापा
आशिक राना/देवघाट

दोश्रो लहरको कोरोना भाइरस (कोभिड-१९)बाट तनहुँका ५३० जना संक्रमित भएका छन् । संक्रमित मध्ये ५८ जना निको भएका छन् भने ११ जनाको मृत्यु भएको छ । २६ जना संक्रमितहरुको अहिले जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र दमौली अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ भने ४६१ जना संक्रमितहरु होम आइसोलेशनमा बसि स्वास्थ्य लाभ लिइरहेका छन् ।
स्वास्थ्यमा गम्भिर समस्या नदेखिएका संक्रमितहरु अहिले होम आइसोलेसनमा बस्दै आएका छन् । होमआइसोलेशनमा बसेकाहरुको स्वास्थ्य अवस्था र अन्य समस्याका विषयमा अहिले जिल्लाका १० वटै पालिकाले निगरानी तथा स्वास्थ्य अवस्था बुझ्ने संयन्त्र समेत बनाएका छन् ।
तनहुँको देवघाट गाउँपालिले होम आइसोलेशनमा बसेका संक्रमितको स्वास्थ्य अवस्था र समस्याका विषय बुझ्न घरदैलो कार्यक्रम चलाउन थालेको छ । गाउँपालिकाका वडा नम्बर ५ मा कोरोना भाइरस संक्रमितहरुलाई स्वास्थ्य सामग्रीसंगै स्वास्थ्य अवस्था बुझन गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापा सहितको टोली घरदैलो अभियानमा खट्टएिको छ ।
देवघाट-५ का वडाध्यक्ष याल बहादुर गुरुङ, वडा सदस्य भोजराज नैनावस्ति, गाउँपालिकाका स्वस्थ्य प्रमुख प्रदीप बुढाथोकी, देवघाट इलाका प्रहरी इन्चार्ज सुशील लामिछाने सहितको टोली संक्रमितको घरदैलोमा पुगेको छ ।
कोभिड-१९ संक्रमित ब्याक्तिहरुलाई स्वास्थ्य मापदण्ड अपनाएर स्वास्थ्य सामाग्रीसंगै स्वास्थ्य अवस्था बारे जानकारी लिई संक्रमित ब्याक्तिहरुलाई स्वास्थ्यको कामना सहित हौसला प्रदान गरिएको गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले बताए ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट देवघाट बासीलाई सुरक्षित राख्न विभिन्न प्रवेश नाकाहरुमा अनावश्यक रूपमा आवतजावत गर्ने मानिसहरुलाई निग्रानीमा राखी थप सुरक्षामा कडाइ गरेको अध्यक्ष थापाले बताए ।
देवघाट-५ का वडाध्यक्ष याल बहादुर गुरुङले गाउँपालिकाको ५ नं. वडा धार्मिक पर्यटकीय स्थल भएकाले यहाँ तिर्थालुहरु आवतजावत हुने सम्भावित प्रवेश मुख्य नाकाहरुमा सुरक्षा व्यवस्थालाई कडाइ गरिएको बताए । पालिका स्थित स्वास्थ्य शाखाले पिसिआर गर्न आवश्यक नागरिकहरुको स्वाव संकलन गर्ने र पिसिआर परिक्षणको नतिजा लिने गरेको वडाध्यक्ष गुरुङले बताए । गाउँपालिकामा हाल १३ जना कोरोना संक्रमित रहेका छन् ।
शुक्रबार प्राप्त रिर्पाेटमा ५ महिला ७ पुरुष गरि १२ जना संक्रमित थपिएका थिए । केही दिन अघि ४७ जनाको स्वाव संकलन गरी परिक्षणका लागि पोखरा पर्ठाईएको थियो । परिक्षणमा यस अघि संक्रमित भएका १ जनाको पनि रिर्पाेट पुनः पोजेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीप बुढाथोकीले बताए ।
संक्रमित मध्ये वडा नम्बर ५ का १० जना, वडा नम्बर १ र २ का एक/एक जना रहेका छन् । संक्रमित सबै होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख बुढाथोकीले बताए ।










