थानीमाई मन्दिरमा एकैदिन ९१ फूलको डोली, करिब १० हजार भक्तजनको उपस्थित

भानु : तनहुँको भानु नगरपालिका–७ वसन्तपुरस्थित प्रसिद्ध धार्मिकस्थल थानीमाई मन्दिरमा कार्तिक महिनाको तेस्रो मंगलबार एकैदिन ९१ वटा फूलको डोली चढाइएको छ । आटे चाहेको मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ तनहुँसहित विभिन्न जिल्लाबाट आएका भक्तजनले पञ्चेबाजासहित फूलको डोली चढाएका हुन् ।

मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरका अनुसार भित्र्याइएका डोलीमध्ये तनहुँका ४२, लमजुङका ३२, गोरखाका १३ र काठमाडौँका दुईवटा रहेका छन् । सोमबार राति मन्दिर परिसरमा ४२१ जना भक्तजन जाग्राम बसेर बत्ती बालेका थिए । मंगलबार मात्रै करिब दश हजार हाराहारीका भक्तजनले मन्दिरको दर्शन गरेको उनले बताए ।

थानीमाई मन्दिरमा फूलको डोली चढाउने विशिष्ट धार्मिक परम्परा छ । भक्तजनले पञ्चेबाजाको तालमा नाचगान गर्दै फूलको डोलीसहित मन्दिरको तीनपटक परिक्रमा गर्छन् । त्यसपछि मन्दिर परिसरमा रहेको देवलमा डोलीसँगै ल्याइएको तोरण एक वा तीन फन्को घुमाएर बाँध्ने र मन्दिरभित्र प्रवेश गरी पूजाआजा गर्ने चलन छ ।

विशेषगरी मनोकामना पूरा भएपछि भक्तजनले सोमबार राती घरमा सत्यनारायणको पूजा लगाएर फूलको डोली चढाउन मन्दिरमा लिएर आउने परम्परा रहेको छ । कात्तिक र माघ महिनाको प्रत्येक मंगलबार यहाँ विशेष मेला लाग्ने गर्दछ। एकादशी, औँशी, सोह्रश्राद्ध र साउन महिनाभर भने मन्दिरको ढोका बन्द रहने मन्दिर संरक्षण समितिले जनाएको छ ।

समुद्री सतहबाट करिब एक हजार दुई सय मिटर उचाइमा रहेको थानीमाई मन्दिर धार्मिक आस्थाका साथै प्राकृतिक सौन्दर्यका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । मन्दिर परिसरबाट मिर्लुङकोट,तनहुँसुर, छिम्केश्वरी लगायतका उच्च पहाड, उपत्यका, बेसीका साथै गोरखाको लक्ष्मीबजार, लिगलिगकोट, पालुङटार, राइनासकोटलगायतका रमणीय क्षेत्र तथा हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । धार्मिक मेला र प्राकृतिक दृश्यावलोकनका कारण थानीमाईमा भक्तजन तथा पर्यटकको आकर्षण बढ्दै गएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker