चुँदी रम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाउन पहल

नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाउन स्थानीयले पहल थालेका छन् । भानु नगरपालिका–४ स्थित चुँदीरम्घा ओझेलमा परेपछि यसको प्रचारप्रसारमा स्थानीय जुटेका हुन् ।
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यसँग सम्बद्धस्थलको पुनः निर्माण, खोज/अनुसन्धान, प्रवर्द्धन तथा प्रचारप्रसार गरी साहित्यिक पर्यटकीयस्थल बनाउने उद्देश्यले स्थानीयबीच प्रारम्भिक चरणको छलफल सम्पन्न भएको छ ।
‘चुँदी रम्घा बनाऔँ’ अभियानअन्तर्गत भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटलगायतको सहभागितामा आयोजित छलफलले आदिकविको जन्मस्थललाई साहित्यिक पर्यटकीयस्थल बनाउने अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
भानुजयन्तीका दिन मात्रै यस ठाउँको खोजी हुने गरेकामा अब वर्षभरी यहाँको चर्चा हुने/गराउने अभियान सञ्चालन गरी प्रचारप्रसार, पुनःनिर्माणलगायत काममा यहाँका स्थानीय जुटेका अभियान्ता सन्देश आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “आदिकवि भानुभक्त आचार्यको जन्मथलो ओझेलमा परेको महसुस भएपछि स्थानीय एकजुट भएर यसको प्रचारप्रसारमा जुटेका हौँ ।”
अभियान्ता आचार्यले विसं २०७८ भदौ ७ गतेदेखि ‘चुँदी रम्घा बनाऔँ’अभियान सञ्चालन गर्दै आउनुभएको छ । उहाँका अनुसार यस अभियानअन्तर्गत भानु स्मारकको संरक्षण, सम्बद्र्धन एवं पुनःनिर्माणको तयारी गरिएको छ ।
स्थानीय, प्रदेश र सङ्घ सरकारसँग सहकार्य गरी थप योजना बनाइने स्थानीय राजीव श्रेष्ठले बताउनुभयो । “चुँदी रम्घालाई साहित्यिक एवं पर्यटकीय थलोको रुपमा विकास गर्नका लागि केही पहलकदमी अगाडि बढाएका हाैँ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा भानु स्मारकको काम हुनेछ । त्यसका लागि सबैको सहयोग आवश्यक छ ।”
छलफलमा स्थानीय ज्येष्ठ नागरिक हरिनाथ आचार्यले सबैको ऐक्यबद्धताले भानु जन्मथलो पर्यटकीयस्थलको रुपमा विकास हुने बताउनुभयो । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले यस अभियानमा नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
समितिका कार्यकारी निर्देशक रानाभाटले शिखरकटेरीमा यसै वर्ष भानुघरको पुनःनिर्माण सुरु गरिने जानकारी दिनुभयो । घर पुनःनिर्माणका लागि बजेटको सुनिश्चित नभए पनि समितिकै आन्तरिक कोषबाट काम सुरु गरिने रानाभाटको भनाइ थियो । “कङ्क्रिटको घर बनाउन नसकिए पनि ढुङ्गा, माटोको घर निर्माणका लागि काम सुरु हुन्छ”, उहाँले भन्नुभयो, “नगरपालिका, प्रदेश र सङ्घ सरकारलाई पनि यस कार्यमा सहयोगका लागि अपिल गर्छौँ ।”
पश्चिमाञ्चल विकास मञ्चले भानु गृहनिर्माणका लागि विसं २०७३ चैत २२ मा शिलान्यास गरेको थियो । मञ्चले हालसम्म गृहनिर्माण नगरेपछि समितिले पुनःनिर्माण गर्ने तयारी गरेको कार्यकारी निर्देशक रानाभाटले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विकास मञ्चको भर पर्दा अपजस मात्रै भयो, अब हामी आफ्नै सक्रियतामा काम सुरु गर्छौँ ।”
भानुभक्तको घर पुनःनिर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने स्थानीयले अपेक्षा गरेका छन् । “आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृह जिल्लामै उपेक्षित भयो की भन्ने भान हामीलाई भइरहेको छ”, कार्यकारी निर्देशक रानाभाटले भन्नुभयो, “घर पुनःनिर्माण गर्न सकिए यहाँ धेरै पर्यटकको आगमन हुने विश्वास गरेका छौँ ।”
विसं २०५७ मा समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माणका लागि रू एक लाखमा उक्त घर पुनःनिर्माण गर्नुभएको थियो । जङ्गलको बीचमा रहेको उक्त घरमा विसं २०६१ जेठमा आगलागी हुँदा रू एक लाख २७ हजार बराबरको क्षति भएको थियो ।
गत वर्ष शिखर कटेरीमा पानी र बत्तीको व्यवस्थासहित यहाँ रामायण भवन निर्माण गरिएको भानुभक्त जन्मस्थल विकास समितिले जनाएको छ । समितिका अनुसार पर्यटन मन्त्रालयको रू तीन करोड लगानीमा रामायण भवन निर्माण गरिएको हो । रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker