किन मानिस कम्युनिष्ट विचारबाट पतन हुन्छन् ?
सुरेशकुमार पाण्डे

अहिले धेरैजसो मानिसहरू कम्युनिष्ट विचारधाराबाट विमुख हुँदै नयाँ राजनीतिक पार्टीहरू गठन गरिरहेका छन् । कतिपयले त “अब नेपालमा कम्युनिष्ट विचारधारा लागु हुनै सक्दैन” भन्ने पनि गर्छन्। आखिर यस्तो विकृति किन पैदा भयो ? यो प्रश्न केवल नेपालको सन्दर्भमा मात्र होइन, विश्वभरकै कम्युनिष्ट आन्दोलनमाथि पनि उठिरहेको छ। आखिर कम्युनिष्ट विचारधारा किन रक्षात्मक अवस्थामा पुग्यो ? अन्य देशहरूको विश्लेषण छुट्टै विषय हो, त्यसका लागि विश्व कम्युनिष्ट आन्दोलनका विज्ञहरूले आफ्नो दृष्टिकोण दिने नै छन्। तर, हाम्रो देश नेपालमा कम्युनिष्ट विचारधाराको अर्थ र प्रभाव के हो? यसबारे गहन रूपमा नसोची, त्यसको मुल्याङ्कन गर्न गाह्रो हुन्छ ।
भूराजनीतिक पृष्ठभूमि
हाम्रो देशको भौगोलिक स्थिति अनौठो छ– दुई विशाल छिमेकी भारत र चीनबीच स्थित । यी दुबै देश विश्वका शक्तिशाली र धनी राष्ट्रहरू हुन् । चीनले नयाँ जनवादी क्रान्ति सन् १९४९ मा सम्पन्न ग¥यो भने भारत ब्रिटिश औपनिवेशिक शासनबाट दुई वर्ष अघि, १९४७ मा मुक्त भयो । करिब ७६–७८ वर्षको अवधिमा दुबै देशले उल्लेखनीय प्रगति गरेका छन्, विशेष गरी चीनले त झनै तीव्र रूपमा विकास गरेको छ। व्यवहारमा दुबै देशलाई साम्राज्यवादी भनिए पनि नेपालतर्फको दृष्टिकोणमा चीन केही सकारात्मक देखिन्छ । यद्यपि नेपालीहरूको सामाजिक–सांस्कृतिक सम्बन्ध भारतसँग बढी गहिरो छ । दुवै देशबीच खुला सिमाना, समान भेषभूषा, धर्मसंस्कृति, चाडपर्व र भाषिक समानताका कारण नेपालीहरू भावनात्मक रूपमा भारतसँग नजिक छन् ।
यस्तो भूराजनीतिक अवस्थाले दुबै देशको प्रभाव नेपालमा पर्नु स्वाभाविक हो। तर, देशभित्र कस्तो राजनीति हाम्रो माटो र समाजका लागि उपयुक्त हुन्छ भन्ने प्रश्नमा गम्भीर बहस हुन जरुरी छ ।
कम्युनिष्ट विचार किन अपच्य भयो ?
नेपालमा कम्युनिष्ट विचार किन “अपच्य” भयो भन्ने प्रश्न अहिले पनि उठिरहेको छ। लामो समयदेखि कम्युनिष्ट विचार बोकेका पुराना नेताहरू समेत उत्तरविहीन बनेका छन्। कतिपयको विचार अस्पष्ट र दोहोरो अर्थ लाग्ने खालको देखिन्छ । देश र जनताको हितमा अहिलेको पुँजीवादी व्यवस्था उचित छैन भन्ने बुझाइ सर्वत्र फैलिँदैछ। तर, त्यसको विकल्पको रूपमा कस्तो प्रणाली आउन सक्छ भन्ने प्रश्न अझै अनुत्तरित छ। नेपालमा प्रचुर प्राकृतिक स्रोतसाधन छन्, जनसंख्या पनि सानो छ, र देश कहिल्यै कसैको उपनिवेश बनेको छैन। यस्ता अनुकूल अवस्थाहरू हुँदाहुँदै पनि विकास किन हुन सकेन ? के केवल भूपरिवेष्ठित हुनु यसको कारण हो ?
ऐतिहासिक पृष्ठभूमि र शोषण
हाम्रो कमजोरी परनिर्भरता हो। अंग्रेजहरूले यही कुरा बुझेर सुगौली सन्धिपछि गोरखा भर्ती केन्द्र स्थापना गरे। नेपालीहरूका वीरता र निष्ठालाई उनीहरूले आफ्नो फाइदाका लागि प्रयोग गरे। शासनकर्ताहरूले त्यतिबेला कमिसनमा देश चलाए र विकास रोकियो। बहुदलीय व्यवस्था आएपछि पनि नेताहरू दलाली र सत्ता–लोभमा डुबे। छिमेकी राष्ट्रहरूले पनि यही चाहन्थे–नेपालका नेताहरू आफ्ना स्वार्थमा बन्धक बनुन्। यही कारण देशका उद्योगहरू बन्द भए, निजीकरणको नाममा राष्ट्रिय सम्पत्ति बेचियो र भ्रष्टाचार संस्थागत बन्यो । अहिले नागरिकहरू अत्यन्तै दुःखमा छन्। असन्तुष्ट जनसमूहबाट समय–समयमा हुने आन्दोलनहरू, जस्तै हालको जेनजी आन्दोलन, भविष्यमा ठूला बिस्फोटका संकेत हुन् ।
कृषि क्रान्तिको आवश्यकता
नेपाल कृषि प्रधान देश हो । तर, जमिनको असमान वितरणले किसान वर्ग पीडित छ। मुट्ठीभर जमिनदारसँग देशको ९५ प्रतिशत भूमि छ भने, ९५ प्रतिशत किसानसँग केवल ५ प्रतिशत जमिन मात्र। यस्तो अवस्थामा कानुन र व्यवस्था पनि उनीहरूकै हातमा कठपुतली बनेको छ । धार्मिक असमानता, जातीय विभेद, लैङ्गिक असमानता, भ्रष्टाचार, महँगी र अपराधजस्ता समस्याले समाजलाई ग्रसित बनाएको छ । यस्तो अवस्थामा कृषिआधारित क्रान्ति अत्यावश्यक छ। जमिन जोत्नेलाई दिने नीति कार्यान्वयन भएमा अन्न उत्पादन बढ्ने र देश आत्मनिर्भर बन्न सक्ने सम्भावना छ । तर, यस्ता क्रान्तिकारी परिवर्तन केवल माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारमा आधारित सच्चा कम्युनिष्ट नेतृत्वमा मात्र सम्भव हुन्छ ।
विचार र व्यवहारको द्वन्द्व
यति स्पष्ट सैद्धान्तिक आधार हुँदाहुँदै पनि मानिसहरू कम्युनिष्ट विचारधाराबाट टाढा हुने कारण के हो ? मुख्यतः हाम्रो समाज आध्यात्मिक–रूढीवादी परम्परामा गहिरो रूपमा जकडिएको छ, जबकि कम्युनिष्ट विचार भौतिकवादमा आधारित छ। यही दुई विरोधी तत्वको असन्तुलनले समाजमा भौतिकवादी चेतना स्थापित हुन दिँदैन ।
कार्ल माक्र्सको भनाइ यहाँ सान्दर्भिक हुन्छ– “धर्म भनेको अफिमको नसा हो ।” नेपाली समाजमा धर्मका नाममा निरन्तर पाप भइरहेकाले भौतिक सोचको विकास कठिन बनेको हो । रूढीवादले शोषकलाई बलियो बनाउँछ। समाजमा श्रमजीवीहरूका आविष्कारलाई अदृश्य शक्तिको चमत्कार भनेर श्रमिकको योगदानलाई बेवास्ता गरिन्छ । जसले गर्दा साँचो अर्थमा सत्य–असत्य छुट्याउने चेतनाको विकास हुन सकेको छैन । यदि हामी साँच्चै कम्युनिष्ट विचारधाराका मान्यवर हौं भने र देशमा न्याय र समानता चाहन्छौं भने, पहिलो काम रूढीवादी सोच त्याग्नु हो ।
सत्य र तर्कमा आधारित भौतिक सोचलाई अपनाउनु हो । जब हामी भौतिक सोचलाई आत्मसात गर्छौं, तबमात्र कम्युनिष्ट विचार हाम्रो समाजमा पच्न थाल्छ । त्यो विचार न केवल वैज्ञानिक र तर्कसंगत हुन्छ, बरु यही बाटो देश र जनताको वास्तविक मुक्ति र समृद्धिको बाटो पनि हो ।










