डिभिजन वन कार्यालय तनहुँको ९१.५ प्रतिशत वित्तीय प्रगति
भञ्ज्याङ समाचारदाता/दमौली

डिभिजन वन कार्यालय तनहुँले आर्थिक वर्ष २०७७/०७८ मा ९१.५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । कार्यालयले पत्रकार सम्मेलन गरी संघ र प्रदेशबाट विनियोजित रकममध्ये ९१.५ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । कार्यालयलाई पाँच करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा यस अवधिमा ४ करोड १० लाख रुपैयाँ खर्च भएको कार्यालय प्रमुख कोमलराज काफ्लेले बताए । प्रदेशतर्फको तीन करोड २३ लाख रुपैयाँ विनियोजन भएकोमा २ करोड ९३ लाख रुपैयाँ खर्च भएको छ ।
यस्तै, संघीय सशर्ततर्फ ९२ लाख ५० हजार रुपैयाँ विनियोजन भएकामा ८६ लाख रुपैयाँ खर्च भएको छ भने प्रदेश सशर्ततर्फ १ करोड २० लाख रुपैयाँ विनियोजन भएकामा १ करोड ११ लाख रुपैयाँ खर्च भएको प्रमुख काफ्लेले बताए । भौतिकतर्फ भने कार्यालयले एक सय प्रतिशत प्रगति हासिल गरेको जनाएको छ ।
कार्यालयले एक वर्षको अवधिमा गरेका विभिन्न कामको विवरण सार्वजनिक गर्दै प्रमुख काफ्लेले सामुदायिक तथा कवुलियती वन विकास कार्यक्रम, जडिबुटी, विरुवा उत्पादन, फलफूल विरुवा खरिद तथा वितरण, वन डढेलो नियन्त्रण तथा व्यवस्थापन योजना, सामुदायिक वनमा वन सम्वर्द्धन कार्य लगायतका कार्यक्रम सम्पादन गरिएको जानकारी गराए ।










