दमौली अस्पतालको मिर्गौला उपचार केन्द्रको “डायलासिस” उपकरण पुनः बिग्रियो

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रको ‘डायलासिस’ उपकरण मर्मतको पन्ध्र दिनमै पुनः बिग्रिएको छ । यसअघि गत जेठ १५ गते मर्मत गरी सञ्चालनमा ल्याइएको पाँच उपकरण पुनः बिग्रिएको हो ।

यसअगाडी वैशाखदेखि उक्त उपकरण बिग्रिएर बसेको थियो । राष्ट्रिय मिर्गौला उपचार केन्द्रका प्राविधिक आएर उपकरण मर्मत गरिदिए पनि फेरि समस्या आएको दमौली अस्पताल मिर्गौला केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले बताए ।

उनले भने, “बल्ल बल्ल उपकरण बनेको थियो, फेरि समस्या आएर बिग्रियो । अहिले चार वटा मात्रै उपकरण सञ्चालनमा छ ।” पाँच मर्मतसहित यसअघि नौ वटा उपकरण सञ्चालनमा रहेकामा अब चार वटा उपकरणबाट मात्रै सेवा प्रवाह भइरहेको केन्द्र प्रमुख पण्डितले बताए ।

उपकरण थोरै हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या हुने गरेको छ । स्वास्थ्य मन्त्रालयले दमौली अस्पताललाई दुइ नयाँ उपकरण पठाएको छ । प्रदेश सरकारमार्फत दमौली अस्पतालमा दर्ुइ उपकरण आइपुगेपनि जडान हुन बाँकी रहेको छ । चार उपकरण सञ्चालनमा हुँदा दैनिक १६ जनाले मात्रै सेवा पाउने अवस्था रहेको छ । केन्द्रले दैनिक बिहान ७ बजेदेखि राति ११ बजेसम्म डायलासिस सेवा सञ्चालन गरेको छ ।

केन्द्रमा हाल डायलासिस सेवा लिने कूल संख्या ५० जना रहेका छन् तर अझै ३० मिर्गौला पीडित डायलासिसका लागि पालो पर्खिदै छन् । तनहुँका विभिन्न ठाउँका मिर्गौला पीडितले मिर्गौला उपचार केन्द्रमा डायलासिसका लागि नाम टिपाएर पालो पर्खिरहेका छन् । नियमित रुपमा डायलासिस गराउनुपर्ने उनीहरूले हाल पोखरामा डायलासिस गरिरहेका छन् ।

उपचार केन्द्रमा डायलासिस गराइरहेका मिर्गौला पीडितले मिर्गौला प्रत्यारोपण वा अन्यत्रै स्थानान्तरण भएर गए मात्रै नयाँले मौका पाउने अवस्था रहेको पण्डितले बताए । “ठाउँ खाली भए मात्रै नयाँलाई मौका दिने हो, कि उहाँहरूले मिर्गौला प्रत्यारोपण गर्नुपर्‍यो कि अन्यत्रै जिल्लामा स्थानान्तरण भएर जानुपर्‍यो”, उनले भने, “ठाउँ खाली भएपछि नाम दर्ता गरेकालाई यहाँ डायलासिसको व्यवस्था मिलाउँछौँ ।”

विसं २०७२ मंसिर ३ गते अस्पतालमा डायलासिस युनिट सञ्चालनमा आएको थियो । उक्त युनिट गत कात्तिक २४ गते दमौली अस्पताललाई हस्तान्तरण गरिसकिएको छ । युनिटमा हालसम्म दुइ सय २८ ले डायलासिस सेवा लिएका छन् । केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौला पीडितले पनि डायलासिस सेवा लिइरहेका छन् ।

हेल्थ केयर फाउण्डेसन अफ नेपालले दमौली अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको थियो । केन्द्रका लागि मन्जु उपाध्यायले आफ्ना स्व पति शत्रुधन उपाध्यायको स्मृतिमा सुरुमा रु एक करोड सहयोग गरेका थियो भने पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker