अत्याधुनिक पशु सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको लगानीमा तनहुँको बन्दीपुर गाउँपालिका-१ नाहालामा निर्माण सम्पन्न भएको अत्याधुनिक पशु सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । गत भदौदेखि निर्माण शुरु भएर चैतमा निर्माण सम्पन्न भएको पशुसेवा केन्द्रको भवनको स्वामित्व गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । नेपाल लाइभस्टक सेक्टर इनोभेसेन आयोजनाका वरिष्ठ योजना अधिकृत विश्वनाथ गौतमले शनिबार गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापालाई उक्त भवन हस्तान्तरण गरेका छन् । भवन निर्माण सम्पन्नपछि गाउँपालिका भित्रका पशुपालक कृषकले अब पशुको उपचार यहीबाटै गर्न पाउने बन्दिपुर गाउँपालिका-१ का वडाध्यक्ष भानुभक्त पोखरेलले बताए । हाल गाउँपालिकाको प्रशासकीय भवनमा सञ्चालित पशु सेवा शाखा नै अब यो भवनमा स्थानान्तरण गरिने भएको छ ।
यसमा चिकित्सकसहितको दरबन्दी हुनेछ । यो भवनमा प्रयोगशाला समेत सञ्चालन हुनेछ । प्रयोगशालाका लागि आवश्यक उपकरण नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले सहयोग गर्ने भएको छ । भवनबाट पशुपालक कृषकले भदौ पहिलो हप्तादेखि सेवा पाउनेछन् । ‘दरबन्दी अभाव छ, दरबन्दी पूर्ति गरेर उपकरण आउनेबित्तिकै सेवा शुरु गर्ने तयारी छ’, उनले भने, ‘पशुको उपचार गर्नुपर्यो भने दमौली जाने बाध्यताको अब अन्त्य हुन्छ ।’ उक्त भवनमा छ कोठाका साथै शल्यक्रिया कक्ष र डिस्पोजल कक्ष रहेको छ । बन्दीपुर गाउँपालिकाभित्र पशुपालन गर्ने कृषकको संख्या बढ्दै गएकाले पशुको उपचारका लागि पशुसेवा केन्द्र अति आवश्यकता थियो । भवन निर्माणका लागि सोही ठाउँ निवासी छलिमाया श्रेष्ठले एक रोपनी जग्गा गाउँपालिकालाई निःशुल्क उपलब्ध गराएका हुन् ।
गाउँपालिकाले वडा नं. १ लाई बाख्रा पकेट क्षेत्रका रूपमा विकास गर्ने गरी कार्यक्रम अगाडि बढाएको छ । मासुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित बाख्रा पकेट क्षेत्रका रूपमा अगाडि बढाइएको वडाध्यक्ष पोखरेलले बताए । यसका लागि वडाले बाख्रापालक कृषकलाई सहयोग गर्दै आइरहेको छ । ‘बाख्रा पकेट क्षेत्रका रूपमा विकास गर्न बाख्रापालक कृषकलाई प्राविधिक तालिम, घाँसको बिरुवा र खोर सुधारका लागि वडाले सहयोग गर्दै आएको छ’, पोख्रेलले भन्नुभयो, ‘व्यावसायिकरूपमा बाख्रापालनतर्फ कृषक आकर्षित भइरहेका छन् ।’ बाख्राको नश्ल सुधार गरी कम्तीमा पाँच वर्षामा वडालाई बोयर तथा स्थानीय खरी जातका बाख्राको स्रोत केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । यस वडामा एक हजारको संख्यामा बाख्रापालन गरिएको बताइएको छ ।










