सम्पादकीय – मानुङकोट : कुहिरोमाथिको पहाड, सम्भावनाभित्रको गाउँ

मानुङकोट पछिल्ला वर्षहरुमा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । तनहुँको व्यास नगरपालिका–५ मा अवस्थित मानुङकोट व्यास पराशर क्षेत्र र दमौली बजारको शिर बनेर ठडिएको मात्रै होइन पछिल्ला वर्षहरूमा तीव्र रूपमा उदाउँदै गएको पर्यटकीय गन्तव्य पनि हो । जाडो मौसम सुरु भएसँगै यहाँ आन्तरिक पर्यटकको चहलपहल उल्लेखनीय रूपमा बढ्न थालेको छ । बिहानको कुहिरो र सूर्यको किरणले दमौली बजार, वरिपरिका पहाड र हिमालहरूलाई सौन्दर्यको नयाँ आयाम दिएको मानुङकोट अहिले पर्यटनको केन्द्रबिन्दु बन्दै गएको छ। तिहार बिदाको अवसरमा दैनिक सयौँ पर्यटक मानुङकोट पुग्ने गरेका छन् । पछिल्लो एक सातादेखि यहाँको पर्यटक संख्यामा तीव्र वृद्धि भएको छ । पर्यटकहरू बिहानको सूर्योदयसँगै कुहिरोको अनुपम दृश्यको आनन्द लिन यहाँ पुग्ने गरेका छन् । तर, मानुङकोटको चर्चा केवल प्राकृतिक दृश्यमा सीमित छैन। व्यास नगरपालिकाले यसलाई ‘पर्यटकीयग्राम’का रूपमा विकास गर्ने योजना अघि सारेको छ। नगर विकास कोषको बजेटमा एकीकृत जग्गा विकास आयोजना अन्तर्गत पहाडी बस्ती विकास कार्यक्रमको स्थलगत अध्ययन भइरहेको छ । मानुङकोटलाई योजनाबद्ध विकासको बाटोमा डो¥याउने गरी कार्यक्रमहरु अगाडि बढाइएका छन् ।

पर्यटनले गाउँमा नयाँ जीवन फुक्दैछ। विगतमा खानेपानीको समस्या र पूर्वाधार अभावका कारण गाउँ छाडेका बासिन्दा अहिले फर्किंदै छन्। अहिले मानुङकोटमा एक दर्जनभन्दा बढी होटल सञ्चालनमा छन् । होटल व्यवसायसँगै स्थानीय युवाले रोजगार पाएका छन् र गाउँमा आर्थिक चहलपहल बढेको छ । बजारका प्रशोधित जार र ट्याङ्करको पानीले तत्कालको आवश्यकता पूरा गरिरहेको छ, भने संघीय सरकारले चालु वर्षमा रु दुई करोड विनियोजन गरी स्थायी खानेपानी योजना अघि बढाएको छ । सहरी विकास मन्त्रालयको सहयोगमा अलैंचेदेखि मानुङकोटसम्म ४३ सय मिटर सडक कालोपत्र भइसकेको छ । कठिन भूभागमा आरसिसी ढलान गरिएको छ, दृश्यावलोकन स्तम्भ र रेलिङसहित पैदलमार्ग तयार गरिएको छ । यी संरचनात्मक सुधारहरूले मानुङकोटको पर्यटन सम्भावनालाई थप सुदृढ बनाउँदै लगेको छ ।

मानुङकोट केवल दृश्यावलोकनको ठाउँ होइन, यो पौराणिक कथाको जीवन्त प्रतीक पनि हो। पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न चाहँदा लोकले पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराएको किंवदन्तीले मानुङकोट र दमौलीलाई धार्मिक र सांस्कृतिक आयाममा पनि जोडेको छ । यही कारणले यहाँको कुहिरोलाई स्थानीयले “पौराणिक रहस्य”को रूपमा व्याख्या गर्ने गर्छन । यो सांस्कृतिक गहिराइ पर्यटन विकाससँगै जोगाइराख्न जरुरी छ । यस्तै, मानुङकोटको विकासले तनहुँमा ग्रामीण पर्यटनको नयाँ आयाम थपेको छ । तर सम्भावनासँगै चुनौती पनि छन् । अनियोजित विकासले वातावरणीय सन्तुलनमा पर्न सक्ने असर । हतारमा गरिएको सडक विस्तार, प्लास्टिक फोहोर र संरचनागत दबाबले प्राकृतिक सौन्दर्यलाई क्षति पु¥याउने जोखिम पनि बढाएको छ । सांस्कृतिक मौलिकताको जगेर्ना, परम्परागत घर, स्थानीय वास्तुकला र पहाडी जीवनशैलीलाई आधुनिक संरचनाले विस्थापित गर्न थाले भने मानुङकोटको पहिचान हराउने चुनौती थपिएको छ । त्यसैले, विकास र संरक्षणबीच सन्तुलन कायम राख्न नगरपालिका र स्थानीय समुदायले मिलेर काम गर्न आवश्यक छ । पर्यटनको लाभ स्थानीयले महसुस गर्ने खालको भागीदारी प्रणाली स्थापना गर्नुपर्छ । केवल पूर्वाधार बनाउनु पर्याप्त हुँदैन, त्यसको दीर्घकालीन व्यवस्थापन र वातावरणीय उत्तरदायित्व सुनिश्चित गर्नुपर्छ ।

आज मानुङकोट केवल एक गाउँ होइन, त्यो स्थानीय पुनर्जागरणको प्रतीक हो । जहाँ एकपटक पानीको अभावले मानिसहरू गाउँ छोड्न बाध्य भएका थिए, त्यही गाउँ अहिले पर्यटनको माध्यमबाट बाँचिरहेको छ । गाउँ फर्किएका बासिन्दा, बढ्दो होटल व्यवसाय र नगरपालिकाको दीर्घदृष्टिले यहाँको भविष्य उज्यालो देखाउँछ। तर यो सम्भावनालाई दीर्घकालीन बनाउने जिम्मेवारी स्थानीय सरकार र समुदाय दुवैको काँधमा छ । योजनाबद्ध, पर्यावरणमैत्री र सांस्कृतिक रूपमा संवेदनशील विकासका माध्यमबाट मात्र मानुङकोटलाई देशकै नमूना पहाडी पर्यटकीय गन्तव्यमा रूपान्तरण गर्न सकिन्छ । कुहिरोमाथिबाट उदाएको घामजस्तै, मानुङकोट अहिले आशा र अवसरको किरण बनेर चम्किँदैछ । यदि यहाँको प्राकृतिक सुन्दरता, पौराणिक विरासत र मानव श्रमबीच सन्तुलन कायम गर्न सकियो भने– मानुङकोट तनहुँ मात्र होइन, नेपालकै पहाडी पर्यटनको ‘उज्यालो गाउँ’ बन्नेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker