अनुमति बिनै खुलेका विद्यालय तनहुँ प्रशासनले बन्द गरायो, दैनिक संक्रमितको संख्या बढ्दो

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा कोभिड-१९ संक्रमण जोखिम बढ्दै गएको छ । संक्रमण जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासनले साउन २० गतेसम्म निषेधाज्ञा केही खुकुलो बनाउँदै लम्ब्याएको छ । तर, जिल्लाका केही स्थानीय तहमा विद्यार्थीलाई भौतिक रुपमै उपस्थित गर्राई पठनपाठन सुचारु गर्न थालिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र तनहुँले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल विद्यालय सञ्चालन नगर्न निर्देशन दिए पनि उक्त निर्देशनको अटेरी गर्दै तनहुँको केही सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा ल्याइएको छ ।

पछिल्लो समय निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण थप वृद्धि भइरहेको छ । यस्तो जोखिमकै बीचमा विद्यालय सञ्चालनमा आएपछि बालबालिका झनै जोखिममा परेका छन् । निजी विद्यालयले विद्यालय पोशाक विना विद्यार्थी विद्यालयमा बोलाएका छन् भने सामुदायिक विद्यालयले विद्यालय पोशाकमै विद्यार्थी बोलाएर पठनपाठन शुरु गरेपछि प्रशासनले तत्काल पठनपाठन रोक्न भनेको छ । कोभिडको उच्च जोखिम रहेकै अवस्थामा सामुदायीक तथा संस्थागत विद्यालयहरु आइतबारबाट खुल्न थालेका थिए । व्यास नगरपालिकाको अनुमती पछि नगरपालिका भित्रका विद्यालयहरु सोमबारबाट सञ्चालनमा ल्याइएपनि केही सामुदायीक विद्यालयहरु गत साताबाट पनि सञ्चालन भएका थिए ।

विद्यालय सञ्चालन भएपछि त्रासकै विच पनि विद्यार्थीहरु विद्यालय गएका छन् । देशभर बैकल्पिक विधिबाट अनलाइन कक्षा स१चालन भईरहेको समयमा व्यास नगरपालिका भित्रका विद्यालय सन्चालन गर्ने जोखिमपुर्ण कार्य भएको थियो । विशेषगरि नीजि विद्यालयहरुको चर्को दवावपछि व्यासले विद्यालय खुल्ला गर्न अनुमति दिएको बताइएको छ ।

व्यास नगरपालिकाले औपचारिक निर्णय नगरेपनि विद्यालय सञ्चालन गर्न सञ्चालकहरुलाई अनुमती भने दिएको थियो । अनलाइन कक्षा मात्र सञ्चालन गर्दा विद्यार्थी तथा अभिभावकसँग शुल्क लिन अप्ठ्यारो भएपछि दमौलीका नीजि विद्यालयले भौतिक रुपमै कक्षा सञ्चालन गर्ने निर्णय गरेका थिए । तर व्यास नगरपालिकाले भने निषेधाज्ञाको उल्लंघन गर्दै विद्यार्थीको भौतिक उपस्थितीमै पठन पाठन गर्न अनुमती दिएको बताइएको छ ।

यता व्यास नगरपालिकाका शिक्षा शाखाका प्रमुख नगेन्द्र रेग्मीले विद्यालय सञ्चालन गर्न नगरपालिकाले अनुमती नदिएको बताएका छन् । केही विद्यालयका सञ्चालकले आफै विद्यालय खोल्यौं भनेर नगरपालिकामा जानकारी दिएको तर नगरपालिकाले कुनै अनुमती नदिएको रेग्मीले बताए । जिल्ला प्रशासन कार्यालयमा सोमबार भएको बैठकमा तत्काल विद्यालय सञ्चालन नगर्ने निर्णय भएको र सोमबारबाट सञ्चालनमा आएका विद्यालयहरु पनि मंगलबारबाट बन्द गरी अनलाइन कक्षालाई नै निरन्तरता र प्रभावकारी बनाउने निर्णय भएको रेग्मीले बताए ।

यस्तै, प्रमुख जिल्ला अधिकारी सागर आचार्यले निषेधाज्ञाको उल्लंघन गर्दै विद्यालय सञ्चालन गर्न नपाइने बताएका छन् । जिल्लामा कोभिडको जोखिम कायमै रहेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय र सिफारिस अनुसार निषेधाज्ञा लगाइएको उनले बताए ।

विद्यालय सञ्चालन गर्नु निषेधाज्ञाको उल्लंघन भएको हुँदा त्यस्तो कार्य गर्न नपाइने प्रजिअ आचार्यको भनाई छ । जिल्लामा कोभिडको जोखिम कायमै रहेको हुँदा सबैले स्वास्थ्य सुरक्षाको कडाइका साथ पालना गर्नुपर्ने र अभिभावकले पनि आफ्ना बालबालिकाको स्वास्थ्यमा खेलवाड नगर्न प्रजिअ आचार्यले आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको सरोकारवालाको बैठकले अर्को निर्णय नभएसम्म विद्यालय सञ्चालन नगर्ने निर्णय गरेको छ ।

स्वास्थ्य कार्यालय तनहुँको तथ्याङ्क अनुसार सोमबार ४८ जना थपिएसंगै सक्रिय संक्रमितको संख्या ४८५ जना पुगेको छ । गत साता सक्रिय संक्रमितको संख्या २ सयमा झरेको भएपनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा लापरवाही बढ्दै गएको छटा भिडभाडजन्य गतिविधि बढ्दै गएकाले कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker