दुलेगौंडामा ७२ पिन्ट रगत संकलन
भञ्ज्याङ न्यूज

लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले आयोजना गरेको रक्तदान कार्यक्रममा ७२ प्रिन्ट रगत संकलन भएको छ। कोरोना कहरका कारण रक्तदान कार्यक्रमहरु पहिले जसरी नहुँदा अस्पतालहरुमा रगत अभाव देखिएकाले रगतको अभाव पुर्ति गर्ने उद्देश्यले बुधबार लायन्सले दुलेगौडामा रक्तदान कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा ८५ जनाले निःशुल्क मधुमेहको जाँच समेत गराएका थिए । रगतको अभावमा कुनै पनि मानवीय दुर्घटना नहोस् भनेर कार्यक्रम गरिएको अध्यक्ष विष्णुबहादुर रानाले बताए ।
रक्तदान कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले अहिले प्रतिकुल समयमा पनि रक्तदान कार्यक्रम आयोजना गरेर लायन्सले पुण्यमध्येको उत्कृष्ट कार्य गरेको बताए । उनले रक्तदान गर्नु भनेको कसैको जीवन बचाउनु भएको भन्दै क्लबले समाजलाई योगदान पुग्ने किसिमको सराहनीय कार्यहरु गरेकोमा खुसी व्यक्त गरे ।

क्लबका अध्यक्ष विष्णुबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्सका ब्लड डोनेशन विभाग प्रमुख महेश बस्नेत, क्लबका पूर्व अध्यक्ष तथा वडा नं. ५ का वडाध्यक्ष दीर्घबहादुर थापा, कलष्टर चिफ सन्तोष घिमिरे, शुक्लागण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष हरिकुमार श्रेष्ठ, जिएलटी कोर्डिनेटर सुजित हिराचन, रिचन चियर पर्सन प्रदिप थापा, जोन चियर पर्सन बरदान क्षेत्री, डिष्ट्रिक चियर पर्सन सुजन कुमार श्रेष्ठ, ब्रहृमाकुमारी रश्मी खड्का, लायन्स क्लब अफ दुलेगौँडा खैरेनी सिटीका अध्यक्ष फणिन्द्र पौडेल, महिला उद्यमी बसन्ता श्रेष्ठ, लायन्स क्लब अफ शुक्लागण्डकीका अध्यक्ष दीपेन्द्र थापा, लायन्स क्लब अफ तनहुँ खैरेनीटारका अध्यक्ष पिताम्बर तिमिलिसना, क्षितिज थापा, देवीभक्त राना, जीवन भट्टर्राई लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।










