म्याग्देको ठूलोचौर टोलमा तिर्थेखोला हात्तीखोरको खानेपानी वितरण
भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिका-१ को ठूलोचौर टोलमा तिर्थेखोला हात्तीखोरको खानेपानी वितरण गरिएको छ । उक्त खानेपानी आयोजनाको गण्डकी प्रदेश निवर्तमान सदस्य आशा कोइरालाले शुभारम्भ गरेकी छन् ।
जनताको समस्यामा आफु सधै लागिपरेको बताउँदै सांसद कोइरालाले भनिन्, ‘जनताले जनप्रतिनिधिप्रति जुन विश्वास र भरोशा देखाए, भोलीका दिनमा पनि रहनेछ भन्ने विश्वास लिएको छु ।’
कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले खानेपानी जस्तो विषय सरकारको न्युनतम् कार्यक्रम भएको हुँदा गाउँपालिकाले जनताको सेवा र सुविधाका लागि हरदम सहयोग गर्न तयार रहेको बताए । उनले तमाम जनताका आवश्कता बिस्तारै पुरा हुने र यसका लागि उपभोक्ता समिति नै चनाखो हुनुपर्ने बताए ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णराज खनालको अध्यक्षतामा आयोजित कार्याक्रममा गाउँपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे, वडाअध्यक्ष मणिभद्र वाग्ले, नेकपा माओवादी केन्द्रका प्रदेश सचिव अतिन्द्रकेशरी न्यौपाने लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
गाउँपालिकाको १० लाख २५ हजार रुपैयाँ, गण्डकी प्रदेशको ८ लाख रुपैयाँको लागतमा निर्माण गरिएको खानेपानी टंकीको निर्माण पाश्चात उपभोक्ताले खानेपानीको सहज भएको गाउँपालिकाका उपाध्यक्ष घिमिरेले बताए । ठुलोचौर टोलमा रहेका ४२ घरधुरीका करिब ३ हजार ५० जना व्यक्तिहरु यो खानेपानी उपभोग गर्ने बताइएको छ ।










