त्रिभुवन विश्वविधालयको स्तर सुधार र चेयर प्रोफेसर
डा. प्रशान्त ध्वज अधिकारी

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय परिसर अध्यन, अध्यापन र अनुसन्धानको नीति, नियम, नयाँ-नयाँ कार्यक्रम बिकास र तर्जुमा गर्ने थलो हो। तर यो स्थान अनसन, तालाबन्दी, घेराबन्दी, बन्दबिरोध गर्ने ठाउँको रुपमा विकासित हुँदैछ । यो केन्द्रीय रोग यसको आंगिक क्याम्पसहरुसम्म पुगिसकेको छ । विश्वविद्यालयको पदाधिकारीहरु, आंगिक क्याम्पसहरुका प्रमुख, सहायक प्रमुख सब राजनीतिक पार्टीहरुले भागबण्डाका आधारमा नियुक्ति गर्ने चलन बसिसकेको छ । तर, कुनै अमुक पार्टीले आफ्नो भाग नपाय, स्वयम प्रोफेसर र कर्मचारीले आफ्ना पार्टीमा आबद्ध विद्यार्थी संगठनलाई बिरोधमा उतारी भाग लिने बानी परिसकेको छ । यो रोग राज्यका हरेक क्षेत्रमा बिस्तार र बिकास हुँदैछ ।
नेपालका अधिकांस विद्यार्थी र पार्टीका नेताका आफन्त विश्वविद्यालयका कर्मचारी वा टिचरका रुपमा राखियका छन । तसर्थ; यिनीहरु, विद्यार्थी नेता, कर्मचारीका नेता र प्राध्यापक संघ-संगठनका नेताहरुको विश्वविद्यालयमा एककिसिमको दबदबा छ । किनकी, यिनीहरुलाई नै सत्तासिन वा ठुला राजनीतिक पार्टीहरुले आफु अनुकुल उपयोग एक-आपसमा गर्ने गर्छन । राजनीतिक पार्टीहरुले आफ्ना बिधार्थी संगठन वा स्वबियुलाई यही तरिकाबाट समर्थन गर्ने हो भने त्रिभुवन विश्वविद्यालय र यसका आंगिक क्याम्पसहरु तिमीहरुले नै चलाउ भन्ने दिन आउंछ । विश्वविद्यालय भनेको अनुसन्धान केन्द्र हो । विश्वका विकासित मुलुकमा संचालन गरिएका विश्वविद्यालयमा कुनै पनि समूहको राजनीतिक हस्तपेक्ष हुँदैन । वातावरणलाई शैक्षिकमय बनाइयको हुन्छ । यसले गर्दा नै तिनीहरुले विश्वमा आफ्नो छबि बनाउन सफल भएका छन।
त्रिभुवन विश्वविद्यालयको अबस्था सुधार
त्रिभुवन विश्वविद्यालयको स्तर सुधार तब हुन्छ, जब अहिलेको अबस्थालाई सुधार गर्दै अघि बढ्न सकिन्छ, किनकी शैक्षिक वातावरण यँहा धेरै नै बिग्रिसकेको छ । बिश्वविद्यालयहरुमा शिक्षाको अबस्था सुधार गर्न सम्झनु पर्ने पक्ष भनेको साना साना सुधारबाट ठुला ठुला समस्या समाधान हुनसक्छन् कि भन्ने हो । यस लेखमा उच्च शिक्षाको क्षेत्रमा आवश्यक संरचनात्मक परिवर्तनभन्दा पनि अहिलेका कानुनभित्र रहेर संगठन भित्रैबाट सुधार गर्न सकिने कामका बारेमा बहस सिर्जना गर्नु रहेको छ। यसो भनेर उच्च शिक्षामा संरचनात्मक सुधार आवश्यक नै पर्दैन भन्ने पनि होइन । यदि अब पनि स्तर नसुधार्ने हो र यही अबस्थाबाट अघि बढे धेरै केन्द्रीय विभागहरु नै बन्द हुने छन । जस्ले गर्दा बिधार्थी नपाई, यो संस्थामा आबद्व कर्मचारी र प्राध्यापकहरुले हाजिर गरी तलब खाने दिन आउने छ ।
यो बेला राजनीतिक पार्टीहरुमा आबद्व विद्यार्थी संगठनले कँहा गयर होला राजनिति गर्ने ? बिश्वबिधालयहरुका केही वर्षका डाटा हेर्ने हो भने, अधिकांस बिश्वबिधालयहरुमा कम संख्यामा नयाँ भर्ना हुने र भर्ना भयपनि बिचमै छोड्ने बिधार्थी संख्याको ग्राफ धेरै नै उकालो लाग्दो छ । विश्वविद्यालयमा विद्यार्थी संख्या घट्नुका विभिन्न कारण छन् । अहिलेका पुस्ता वा विद्यार्थी पूरै समय विद्यार्थी मात्रै नभएर आय-आर्जनका निम्ति श्रमसँग जोडिने मानसिकताका छन, किनकी उनिहरु परनिर्भर हुन रुचाउँदैन । अर्को कुरा समाजसँग सम्बन्धित छ । बाहिर मात्रै भविष्य छैन, हामीकहाँ भएका विषय पढ्दा पनि भविष्य छ भनेर विद्यार्थी, अभिभावकलाई विश्वास गर्ने वातावरण हामीले निर्माण गर्नसक्नुपर्थ्यो, तर हुनसकेन ।
नेपालमा रहदा आयस्रोत पनि नहुने, आशिक काम गर्दै पढ्ने अबस्था पनि नपाउने। तर, आकांक्षाहरू विश्वव्यापी हुने भएपछि राम्रो अवसरको खोजी गर्दा जहाँ भविष्य सुरक्षित देख्छन् त्यतै जान्छन। यस बाहेक, विश्वविद्यालयबाट उत्पादित जनशक्ति व्यवस्थापन गर्न सबै जिम्मेवार हुनुपर्थ्यो । सरकारले आवश्यक ठाउँमा दरबन्दी खोल्ने र विश्वविद्यालयले पनि लोक सेवा वा राज्यलाई हामीले पढाएको यो विषयको उपादेयता छ, त्यसको लागि दरबन्दी हुनुपर्छ भनेर पहल गर्नुपर्थ्यो, तर त्यो पनि हुन् सकेन । शिक्षा आर्जन गर्ने देशकै सरकारी र नेतृत्वदायी प्रमुख शैक्षिक धरोहर पार्टीमा आबद्व नभयका बौद्धिक प्राध्यापकहरुलाई छोडेर राजनीतिक पार्टीहरुको कार्यकर्ता उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार, डीन, कार्यकारी निर्देशक, परीक्षा नियन्त्रक र क्याम्पस प्रमुख बन्छन् भने तिनले गुणस्तरीय शैक्षिक र प्राज्ञिक संस्था बनाउँछन् भन्ने बिश्वास राज्यको लागि गम्भिर त्रुटि थियो। यसको निरन्तरता राज्यले सच्याउनु पर्ने हो, तर यी शैलीहरु झन-झन मौलाउदो छन ।
भर्खर प्रकासित टाइम्स हायर एजुकेसनको २०२४ को सर्वेक्षणमा विश्वभरका विश्वविद्यालयमा त्रिविको स्थिति हजारभित्र पनि सूचीकृत नभयको देखायको छ । यस सर्वेक्षणका लागि विभिन्न मापदण्डहरु राखियका हुन्छ्न, जस्तो विद्यार्थी संख्या, प्राध्यापक, कर्मचारीको विवरण, जग्गाजमिन लगायत भौतिक संरचना, शिक्षण विधि, अनुसन्धान कार्यलाई अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन, जर्नलमा प्रकासित लेखको महत्व-साइटेसन, विदेशी प्राध्यापक र विद्यार्थी, आर्थिक गतिविधि, अन्तर्राष्ट्रिय छवि इत्यादि । यि बिषयहरुलाई समेट्न पहिला बिश्वबिधालय भित्र स्वच्छ शैक्षिक बाताबरण हुनुपर्यो । माथि उल्लेखित धेरै समस्या निम्त्याउने कारक चाँही राजनीतिक नै हो । शैक्षिक सस्थासंग राजनिति नजोडिन प्रधानमन्त्री र शिक्षामन्त्रीले लिइने बिश्वबिधालयका उपाधि हटाउन पनि ढिलो भैसकेजस्तो लाग्छ। सकिन्छ भने अहिले रहने उपकुलपतिलाई नै बिश्वबिधालयको प्रेसिडेन्ट बनाउ र उनैलाई बिश्वबिधालयको सबभन्दा उच्च तह मानौ । विश्वका धेरै विकासित देशहरुमा यस्ता किसिमका अभ्यास पनि पाइन्छ । राजनीतिक नेतृत्वले यस्ता त्रुटिहरुलाई सच्च्याउने हो भने पनि त्रिबिको अहिलेको अबस्थालाई सुधार गर्दै विश्वविद्यालयको स्तर उकास्न सकिन्छ ।
स्तर सुधार गर्न त्रिभुवन बिश्वबिधालयलाई चेएर प्रोफेसरसंग जोड्न सकिन्छ ?
आज संसारमा बिश्वविद्यालयबाट रिटायर्ड भयका प्रोफेसरका प्रोफाइल हेरिन्छ, उनीहरुको अनुसन्धान र अरु शैक्षिक गतिबिधि उत्कृस्ट छ भने चेएर प्रोफेसरको रुपमा नियुक्ति दिने चलन छ। यही विधिबाट चाइना, कोरिया, ब्राजिल, मलेसिया, साउदी अरब, पहिलाको सोभियत राज्यहरु, ताईवान र अन्य राष्ट्रहरुले आपनो बिश्वविद्यालयलाई उत्कृस्ट बनाउदै लगेका छन। अझ हाम्रो जस्तो राजनीतिले तहस-नहस पारेको शिक्षा क्षेत्रलाई, यो अबस्थाबाट माथी उठाउन यस्ता प्रोफेसरलाई केही समयसम्म भित्र्याउन सकिन्छ कि भनि यो लेखलाई यहाँ उठान गरियको छ। रिटायर्ड जीवन, नयाँ ठाउँ र आपनो बैभव देखाउन, सिकाउन उनीहरु तयार हुने भयकोले हाम्रा जस्ता देशको लागि सानो रकम वा रकम बिनापनि वातावरण भय यस्ता प्रोफेसर आउन वा लेराउन सक्ने स्थिति छ। अझ हाम्रो जस्तो राजनीतिक खिचातानिमा परेको बिश्वविद्यालयलाई यस्बाट जोगाउने उत्तम उपाय यो पनि हुन् सक्छ, किनकी हामीकोमा बौद्विक भनिने प्रोफेसर पनि कुनै न कुनै पार्टीमा आबद्व हुने भयकोले जो नेतृत्वमा पुगे पनि बिरोध आउन सक्ने स्थिती छ ।
म स्वयं पनि यस्तै चेएर प्रोफेसरको अण्डरमा पि.एच.डी. गर्ने सिलसिलामा ताईवान राष्ट्रिय प्रबिधि बिश्वविद्यालयमा जोडिन पुगेको हौ । सुपरभाइजर जापानिज महिला प्रोफेसर, तर जापानबाट रिटायर्ड हुनै लाग्दा ताइवानको यस विश्वविद्यालयसंग आवद्ध हुन पुग्नुभयो। त्रिबिका केन्द्रीय विभाग वा अन्य निकायमा यस्ता चेएर प्रोफेसरलाई छोटोसमयसम्म राख्न सकेपनि संगठनसंग विदेशी प्राध्यापक पनि रहेको सन्देश जाने र यसले बिदेशी विद्यार्थीलाई आकर्षा पनि गर्न सक्ने आधार बन्न सक्छ । त्यो भन्दा महत्वपूर्ण शैक्षिक बाताबरण कायम गर्न चाहिने आचरणगत र कार्यशैलीगत पक्षमा गरिने गतिबिधिको भूमिका कस्तो हुन्छ भनि सिक्ने अबसर पनि संगठनलाई प्राप्त हुने छ । किनकी, यस्ता सुधारबाट हासिल गर्न सकिने नतिजा पनि महत्वपूर्ण पाटो हुन्छ भन्ने चाँही हामीले भुल्न हुन्न ।
अर्कोतिर यस्ता ब्यक्ति बिश्वविद्यालयमा जोडिए अन्तर्राष्ट्रिय स्तरमा देशप्रति गलत सन्देश जाने डरले अहिलेको निरन्तरतामा क्रमभंगता हुन् पनि सक्ला । मेरो सुपरभाइजरलाई धेरै बर्षपछि एक अन्तर्राष्ट्रिय मन्चमा फेरी भेट्ने मौका पाए । कफि गफमा गुरुआमाले आपना धेरै विद्यार्थीहरु प्रोफेसर भैसकेका, तिमी पनि नेपालको विश्वविद्यालयसंग जोडिएको हेर्न चाहन्छु; हिजो विद्यार्थीकालमा पनि भनिराख्नुहुन्थ्यो, फेरी पनि भन्नुभयो। यो बिचमा तीनचोटी अन्तिम बिन्दु अन्तर्वातासम्म आफु पुगे पनि नेपालको विश्वविद्यालयसंग जोडिन नसकेको, तर नेपालका निजी कलेजको उच्च प्रोग्राममा अनलाईन वा भौतिक उपस्थितिमा क्लास लिईरहेको बताए ।
कता-कता नेपालको विश्वविद्यालयसंग गुरुआमा जोडिन चाहानु भएको त हैन जस्तो लाग्यो । प्रख्यात प्राध्यापकले विश्वविद्यालयको मात्र स्तर बढाउने हैन, स्वयं आबद्ध व्यक्तिहरुको पनि स्तर बढाउन सहयोग पुर्याउछन । आफु स्वयं पनि यो मामिलामा भाग्यमानी ठान्छु, किनकी पि.एच.डी. उपाधि पश्चात आफुलाई पछि फर्केर अहिलेसम्म हेर्न परेको छैन ।
अन्त्यमा भनिन्छ, घर-परिवार हुँदै समाज भाड्न र देशलाई असफल पार्न अरु केही गर्नु पर्दैन, शिक्षा क्षेत्रलाई ध्वस्त पारिदिय पुग्छ। यो क्षेत्र ध्वस्त भए राज्यका हरेक अंगहरु बिस्तारै आफैँ तहस-नहस हुँदै जान्छन। समाज बदल्ने हो भने नीति निर्मातादेखि, शिक्षक एवं विद्यार्थी र आमनागरिक सबैलाई अध्ययन गर्ने संस्कार बसाल्नुपर्छ । जसले विषयवस्तु बुझन र मनन् गर्न सहयोग पुगोस । मुलत; समृद्धिका सपनाले व्यावहारिक आकार नपाईनाले पनि हामी अनेकौ उल्झनमा फस्दैछौ । आम नागरिकलाई शिक्षा र स्वास्थ्यमा निःशुल्क सेवासँगै रोजगारका योजनामा गाँसिदिए मात्र पनि अन्य शिक्षा क्षेत्रका बाधा आफै खुल्दै जाने र विकासका अन्य बाटाहरु पनि फराकिला हुँदैजाने थिए ।










