डुम्रे–बेसीशहर सडकका छेवैमा सुन्दर आकाशे छहरा : पर्यटक लोभ्याउँदै

जनक श्रेष्ठ

डुम्रे–बेसीशहर सडकका छेवैमा सुन्दर आकाशे छहरा । बेँसीशहर नगरपालिका– १ दलालमा अवस्थित सो छहरको फेंदीको सुन्दर पोखरी । असी मिटर उचाइँबाट झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणी । यही इन्द्रणीको अनुपम दृश्यावलोक गर्न पर्यटकको गन्तव्य बनेको छ ।

छहरा हेर्दै फुरुङग बनेका पर्यटक कोही धमाधम फोटो खिच्छन्, त कोही छहरालाई पृष्ठभूमिमा पारेर आफ्नै फोटो र सेल्फी खिच्छन् । कपडा खोलेर चिसोपानीमा डुबुल्की नमारी त कहाँ धित मर्छ र ? उहाँहरु छहराका फेँदमा बनाइएको पोखरीमा घण्टौं रमाउँछन् पनि । साथीहरुबीच एकापसमा पानी छ््यापाछ्याप गर्नु र पौडिएर माछा जस्तै पोखरीमा ओहोरदोहोर गर्नुको मज्जा कति–कति ! यसवर्ष कोरोना महामारीका कारण बाह्य पर्यटक ठप्प छन्, विगतमा भने यहाँ पदमार्गमा आउने विदेशी पर्यटकसमेत दिल खोलेर रमाउने गर्दथे। सडकमा गुड्ने सवारीसाधनसमेत छहरा छेवैमा आइपुगेपछि एकछिन रोकिने र यात्रुहरु त्यहाँको प्राकृतिक सुन्दरता नियाल्ने प्रयास गर्दछन् ।

यस झरनामा दैनिक २५० को हाराहारीमा आन्तरिक तथा विदेशी पर्यटक आउने गरेका छन् । शनिबार र बिदाका समयमा भने दोब्बर नै आउँछन् । यस झरनामा जिल्लासहित छिमेकी जिल्ला तनहुँ, गोर्खा, कास्की, मनाङलगायतका ठाउँका पर्यटक आउने गरेको स्थानीयवासी बताउँछन् । झरनाको शीतलतासँगै फेल्फी खिच्दा मन चङ्गा जस्तै हुने पर्यटक सिर्जना श्रेष्ठले भन्नुभयो । खुदी भुलभुलेका रामबहादुर थापाले भन्नुभयो “घरमा बसेर दिन बिताउन कठिन हुन्छ । यहाँ आएर झरनासँग रमाउदा दिन बितेको पत्तोनै हँुदैन, झरनामा भिज्दा आनन्दको आभास हुन्छ । ”

राइनास नगरपालिका– ८ की गोमा जिनी नेपालीले भन्नुभयो, “झरनामा रमाउन मन लाग्छ अनि साथीहरुलाई पनि सँगै ल्याएर रमाउने गरेको छु ।” साथीहरु यस झरनामा आउँदा रमाइलोे महसुस गर्ने गरेको उहाँले बताउनुभयो । यस झरनामा बर्सेनि आउने गरेको र अन्य साथीलाई पनि झरनाको स्वाँद लिनलाई आग्रह गर्ने गरेको उहाँको भनाइ छ । सो झरनाले नयाँनयाँ व्याक्तित्वबीच परिचित गर्ने मौकासमेत सिर्जना गरिदिएको छ ।

आन्तरिक पर्यटक मात्र नभइ विदेशी पर्यटकसमेत आउने र यसवर्ष कोरोनाको त्रासले विदेशी पर्यटक भने नआएको स्थानीयवासी कृष्णराज ओलियाले जानकारी दिनुभयो । साहसी खेल क्यानोनिङकोसमेत राम्रो सम्भावना रहेको छ । बेँसीशहर नगरपालिकाले पर्यटक र क्यानोनिङको सम्भावना बोकेको झरना व्यवस्थित गर्नका लागि अन्य सङ्घ संस्थासँग मिलेर काम जारी राखेको छ । नगर प्रमुख गुमानसिंह अर्यालले झरनालाई व्यवस्थित गर्दै पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारीमा रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकाले झरनालाई पर्यटकको आकर्षणको केन्द्र बनाउन विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) समेत तयार गरी सकेको छ । नगरपालिकाको रु ६ करोड ६८ लाख लागतमा सो झरनालाई व्यवस्थित बनाउनका निजी क्षेत्रलाई काम गर्ने जिम्मा दिने तयारीमा रहेको नगर प्रमुख अर्याललको भनाइ छ ।

मस्र्याङ्दी नदीको पानी तानेर झरनामा पानी निरन्तरता झार्ने, झरना तल पोखरी निर्माण गर्ने र पार्किङस्थल बनाउने भएको छ । त्यस्तै सो झरनामा क्यानोनिङ तथा जलयात्रा समेत सञ्चालन गर्ने उहाँको भनाइ छ । चक्रिय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ रहेकाले यस बाटो हुँदै जाने विदेशी पर्यटकसमेत आकर्षित हुने अपेक्षा नगरपालिकाको छ ।

सो झरना बर्सेनि असारदेखि असोज महिनामा झर्ने गर्दछ । झरनामा आउने पर्यटकलाईमध्ये नजर गर्दै नजिकै रेष्टुराँसमेत सञ्चालन गर्न थालेका छन् । झरना थप व्यवस्थित भएमा पर्यटकको आकर्षण झरना हुनसके पर्यटक आएमा व्यापार व्यवसायसमेत हुनेहुँदा स्थानीयवासीलाई आयआर्जनको पाटोसमेत हुने स्थानीयवासी कृति बानियाँको भनाइ छ । उहाँले भन्नुभयो । “प्रकृतिले दिएको उपहारको सदुपयोग हामीले गर्नसक्नुपर्छ । ”

त्यस्तै, चक्रिय अन्नपूर्ण पदमार्गको छेउमैपर्ने मस्र्याङ्दी गाउँपालिकाको हामफाले (भूलभूले) झरनालेसमेत आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याउने गरेको छ । यस झरनामा जिल्लाका बेँसीशहर, खुदी, चनौटेलगायत दर्जनौं स्थानबाट मात्र नभइ बाह्य जिल्लाबाटसमेत झरनाको मनोरम दृश्य हेर्न आउने गरेका छन् । करिब ७० मिटरमाथिबाट पानी झरेको झरना नजिकै आन्तरिक तथा बाह्य पर्यटकका लागि तीन स्वीमिङ पुलसमेत बनाउन थालिएको छ ।

दुई वर्षअघि गाउँपालिकाले पर्यटकलाई मध्यनजर गर्दै करिब रु १० लाख लागतमा सो झरनासम्म जाने सिँढी र फलामे फललगायतका पूर्वाधार निर्माण गरेको थियो । यस झरनामा पछिल्लो समयमा आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ । यस झरनालाई थप व्यवस्थित गर्दै आगामी दिनमा थप पर्यटकको लागि उपयुक्त पर्यटकीय गन्तव्यमध्ये एक बनाउने तयारीमा गाउँपालिका रहेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो,“झरनालाई पर्यटकीय गन्तव्य बनाउका लागि आवश्यक रकम खर्च गर्नेछौं ।” त्यस्तै गाउँपालिका–४ मिप्रामा रहेको स्याग्रे झरनासमेत पर्यटकको आकर्षणको केन्द्र बनेको छ । यस झरनामा समेत सयौं युवायुवती पुग्ने गरेको स्थानीयवासीको भनाइ छ । सोही वडामा रहेको अक्टोवस झरनालेसमेत पर्यटकको मन तान्ने गरेको छ । बेँसीशहर चामे सडकबीच सडकमै झर्ने झरनाको पानीले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाउने गरेको छ । यी झरनामा मात्र नभइ जिल्लाका यस्ता दर्जनांै झरनाले पर्यटकको मन लोभ्याउने गरेको पाइन्छ । कोरोना सङ्क्रमणकाबीच पनि आन्तरिक पर्यटकले जिल्लाको विभिन्न झरनामा पुगेर रमाउने गरेका छन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker