अपडेट : चितुवाको आक्रमणमा परी बन्दिपुरको बाहुनभञ्ज्याङमा ९ वर्षीय बालिकाको मृत्यु
भञ्ज्याङ न्यूज

चितुवाको आक्रमणमा परी तनहुँमा ९ वर्षीय बालिकाको ज्यान गएको छ । बन्दिपुर गाउँपालिका-५ बाहुनभञ्ज्याङमा सोमबार साँझ करिब ६:१५ बजेको समयमा चितुवाले आक्रमण गर्दा स्थानीय प्रकाश थापा मगरकी ९ वर्षीया छोरी स्वीकृति थापा मगरको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए ।
बजै (हजुरआमा)ले घर माथी करिब ५/७ सय मिटरको दुरीमा रहेको मासु पसलबाट कुखुराको मासु ल्याउन पठाएको र लिएर आउने क्रममा उनलाई चितुवाले आक्रमण गरेको स्थानीयले बताएका छन् । रोडमा हिडिरहेकी बालिकालाई चितुवाले आक्रमण गरी रोड तल जंगलमा लगेको थियो ।
बेसीबाट गाउँ उक्लदै गरेकी छिमेकी बजै (हजुरआमा)ले बालिकालाई चितुवाले आक्रमण गर्दै गरेको देखेपछि नजिकै भलिबल खेलेर घर फर्कदै गरेका युवाहरुलाई ती बजैले हारगुहार गरेकी थिइन् ।
घटनास्थलमा युवाहरु आइपुग्दा चितुवाले बालिकाको रगत चुसीसकेको र मृत अवस्थामा भेटिएको स्थानीयलाई उद्धृत गर्दै गाउँपालिका अध्यक्ष थापाले बताए ।
बालिकाको घर र बाहुनभञ्ज्याङ आउने बीच बाटोमा जंगल रहेको र उनि हजुरआमासंगै बस्दै आएकी थिइन । बालिकाका बुबा पनि घर बाहिर रहेको र आमा नभएको बताइएको छ ।
गाउँपालिकामा यस अगाडि पनि चितुवाको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ भने दुइ जना घाइते भएका छन् । घटना स्थलमा मुचुल्का गरी मृतक बालिकाको शव पोष्टमार्टमका लागि दमौली ल्याउने तयारी भएको सयहाक डिभिजन वन अधिकृत शुरेस भुजेलले बताए ।










