डेंगी संक्रमणको हटस्पोट बनेको आँवुखैरेनीका १ हजार ७४ जनामा डेंगी संक्रमण

आँवुखैरेनी । तनहुँको आँवुखैरेनी गाउँपालिकाको आँवुखैरेनी बजार क्षेत्र डेंगी संक्रमणको हाटस्पोट बनेको छ । गत जेठ ३१ गते पहिलो डेंगी संक्रमित भेटिएको आँवुखैरेनीमा अहिले दैनिक २०/३० जनामा संक्रमण देखिन थालेको छ । गाउँपालिकाले सञ्चालन गरेको आँवुखैरेनी अस्पतालमा बिहीबार मात्रै डेंगीसंग मिल्दोजुल्दो लक्षण देखिएका एक सय जनाको नमुना संकलन गरी डेंगी परीक्षणको लागि पठाइएको अस्पतालका प्रमुख डिबी क्षेत्रीले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयको तत्थाङ्क अनुसार जिल्लामा विहीबारसम्म एक हजार ४६६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। जसमध्ये सबैभन्दा धेरै आँबुखैरेनी गाउँपालिकाका रहेका छन् । आँवुखैरेनीमा विहीबारसम्म १ हजार ७४ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँकी पब्लिक हेल्थ नर्स पुजा कुवँरले जानकारी गराइन ।
उनका अनुसार शुक्लागण्डकी नगरपालिकामा १६८, व्यास नगरपालिकामा ११८, बन्दीपुर गाउँपालिकामा ७८, म्याग्दे गाउँपालिकामा ८, भानु नगरपालिकामा ८, भिमाद नगरपालिकामा ६, ऋषिङ गाउँपालिकामा ३ र देवघाट गाउँपालिकामा ३ जना गरी विहीबारसम्म तनहुँका १ हजार ४६६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
गत वर्ष तनहुँको सदरमुकाममा रहेको व्यास नगरपालिकामा डेंगी संक्रमण महामारीकै रुपमा देखिएको थियो । जिल्लामा करिव ८ हजार जनामा डेंगी संक्रमण पुष्टि भएको थियो भने डेंगीकै कारण ५ जनाले ज्यान गुमाएका थिए ।
यस वर्ष आँबुखैरेनी गाउँपालिकाको वडा नम्बर ३ बजार क्षेत्रमा डेंगी संक्रमण फैलिएको छ । १५ शैयाको अस्पतलमा डेंगी संक्रमितको उपचारका लागि बेड पु¥याउन समस्य भएको आँवुखैरेनी अस्पतालका प्रमुख क्षेत्रीले बताए। ‘१२ जना संक्रमितलाई वर्डमा राखेर उपचार दिइरहेका छौं’, उनले भने, ‘इमर्जेन्सिमा पनि उत्तिकै चाप छ । वेड नपाएर संक्रमितहरु भिजिटर वेडमा बसेर उपचार लिन बाँध्य हुनुहुन्छ ।’ ६ वेडको इमर्जेन्सि कक्ष अहिले १७ वेडको बनाइएको अस्पतालले जनाएको छ ।
एक जना कन्सल्टेन्ट र ३ जना मेडिकल अफिसर सहित अस्पतालमा ४० जना स्वास्थ्यकर्मी÷ कार्यालय सहयोगी छन् । अस्पतालका १२ जना कर्मचारीलाई समेत डेंगी संक्रमण भएको उनले बताए । उनले भने, ‘एक जना मेडिकल अफिसर, एक जना हेल्प असिस्टेन्ट र एक नर्सिङ स्टाफ बिरामी बिदामा हुनुहुन्छ। अरु निको भएर नियमित काममा फर्किसक्नुभएको छ ।’
यस्तै, सेतो रगत कम हुँदै गएका बिरामीहरुलाई चितवन, पोखरा, काठमाडौं लगायतका अस्पतालमा रिफर गरिएको उनले बताए । उनले भने, ‘हामीसंग रगत छुट्टयाउने मेशिन नभएकाले प्लेट्लेट घटेका, आईसियु सहितको उपचार आवश्यक १५ जना बिरामीलाई रिफर गरेका छौं ।’ जिल्ला अस्पताल दमौली, शुक्लागण्डकीस्थित जिपी कोइराला अस्पतालमा समेत सेतो र रातो रगत छुट्याउने मेशिन नरहेको र बिरामीलाई सेतो रगत चढाउनुपर्ने अवस्था आए रिफर गर्ने अस्पतालले जनाएको छ ।
यस्तै, आँबुखैरेनी–३ की २० वर्षीया सुस्मा राना गत ३ गतेदेखि अस्पातलमै भर्ना भई उपचार सेवा लिईरहेकी छिन् । ३ गते बिहान काम्ने ज्वारो आएपछि डेंगीको शंका गरी परीक्षण गरेकी उनलाई संक्रमण पुष्टि भएदेखि अस्पतालमै सेवा लिइरहेकी छिन् ।
आफ्नै घरछेउमै रहेर उपचार सेवा लिन पाउँदा सहज भएको उनले बताइन् । ‘घरनजिकै बसेर उपचार सेवा पाउँदा खुसी छु’, उनले भनिन्, ‘तर कति संक्रमितहरु यहाँ वेड नपाउँदा र समस्य जटिल हुँदा अन्यत्र जानुपर्ने बाँध्यता छ । आफ्नै जिल्लामा विशेषज्ञ चिकित्सकद्वारा सेवा दिने वातावरण भए यसरी उपचारकै लागि अन्य जिल्ला जानु पर्दैन थियो होला ।’
यस्तै, डेंगी संक्रमण फैलिदा सबैकुरा व्यवस्थित गरेर उपचार सेवा दिन समस्य भएको अस्पतालकी नर्सिङ इन्चार्ज सिमा क्षेत्रीले बताइन्। उनले भनिन, ‘डेंगी संक्रमित धेरै भएकाले हामीले अस्पतालको खाली ठाउँमा पनि बेड राखेर बिरामीलाई उपचार गर्नुपर्ने अवस्था थियो । अहिले पनि कति संक्रमतिले बेड नपाएर घरबाटै आउने जाने गर्नुहुन्छ ।’
‘हाम्रा ४ जना नर्सिङ स्टाफलाई पनि डेंगी संक्रमण भयो, उहाँहरु निको भएर नियमित काममा फर्किसक्नु भएको छ’, उनले भनिन्, ‘सावधानी अप्नाएर सकेको दिनसम्म गरिराउ गाह्रै भयो भने हेरौला भन्ने हिसावले अन्य संक्रमितलाई सेवा दिइरहेका छौं।’ अस्पतालमा दैनिक एक सय देखि १५० जनासम्म ओपिडि सेवा लिनका लागि आउने गरेको जनाइएको छ डेंगी संक्रमणले गर्दा अस्पतालमा विरामीको चाप बढेको छ ।
यस्तै, डेंगी संक्रमण बढ्न थालेपछि पालिकाले डेंगी संक्रमण फैलाउन सक्ने लामखुट्टे बस्ने सम्भावित ठाउँमा सरसफाई र लामखुट्टेका लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिइएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । उनले भने, ‘बर्षातका समयमा परेको पानी जम्न गई सोही स्थानबाट संक्रमण फैलिएको प्रारम्भिक अनुमान गरिएको छ । अहिले पालिकाभित्रका पानी जम्ने स्थानहरु सफा गरी औषधी छर्किने काम भइरहेको छ ।’ यस वर्ष डेंगी संक्रमणका कारण जिल्लाका एक पुरुषको मृत्यु भइसकेको छ । व्यास नगरपालिका–७ का ५० वर्षीय पुरुषको डेंगी संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।










