सम्पादकीय : कृषि उपजको ब्रान्डिङ र बजारीकरण

नेपालको कृषि क्षेत्रमा लामो समयदेखि एउटा समान समस्या दोहोरिँदै आएको छ । किसानले मेहनत गरेर उत्पादन त गर्छन्, तर त्यसको उचित मूल्य पाउँदैनन् । बिचौलियाले लाभ लिन्छन्, किसान भने लागत उठाउनै संघर्ष गर्नुपर्ने अवस्था रहन्छ । यसको प्रमुख कारण उत्पादनको अभाव होइन, उत्पादनलाई मूल्य अभिवृद्धि गर्न नसक्नु हो । उत्पादनलाई प्रशोधन, ब्रान्डिङ, लेबलिङ र आकर्षक प्याकेजिङमार्फत बजारसँग जोड्न नसक्दा किसानको पसिना सस्तोमा बिक्री भइरहेको यथार्थ अझै धेरै ठाउँमा विद्यमान छ । यही सन्दर्भमा तनहुँमा कृषि विकास कार्यालयले सञ्चालन गरेको कृषि उद्यम विकास कार्यक्रमले देखाएको सकारात्मक परिणाम आशालाग्दो छ । जिल्लामा उत्पादन हुने बेसार, अदुवा, मह, सातु, तोरीको तेल, चामल, कोदो, मकै, फापर, गहुँको पिठो, दलहन तथा अन्य कृषि उपज अब खुला रूपमा मात्र बिक्री हुने वस्तु रहेनन्। ती उत्पादनले आफ्नै पहिचान बनाउन थालेका छन्। ब्रान्ड, लेबल र गुणस्तरीय प्याकेजिङसहित बजारमा पुग्न थालेपछि स्थानीय उत्पादनप्रति उपभोक्ताको विश्वास बढेको छ भने किसानले पनि उत्पादनको तुलनामा राम्रो मूल्य पाउन थालेका छन् ।

 

कृषि क्षेत्रको वास्तविक चुनौती उत्पादन बढाउनु मात्र होइन, उत्पादनलाई बजारसम्म मूल्यसहित पु¥याउनु हो । खेतमा फलाएको वस्तु यदि खुला बोरा वा डोकामा हालेर बिक्री गर्नुप¥यो भने त्यसको मूल्य सीमित हुन्छ । तर त्यही वस्तु सफा गरी, प्रशोधन गरेर, आकर्षक प्याकेटमा राखी आफ्नो पहिचानसहित बजारमा पठाउन सकियो भने त्यसको मूल्य स्वाभाविक रूपमा बढ्छ । यही कारणले अहिले विश्वभर कृषि उत्पादनभन्दा कृषि उद्यमलाई बढी महत्व दिन थालिएको हो । तनहुँका केही उदाहरणले यही परिवर्तनको संकेत दिएका छन्। घिरिङ गाउँपालिकाको सुन्धारा महिला समूहले बेसारलाई ब्रान्डसहित बजारमा पठाउन थालेको छ । शुक्लागण्डकीको सातु उद्योगले स्थानीय अन्नलाई प्रशोधन गरी आधुनिक प्याकेजिङमा बिक्री गरिरहेको छ । व्यास नगरपालिका–१२ को छिर्कने मित्र राइस मिलले चामललाई आफ्नै ब्रान्डमा बजारमा उतारेको छ । भानुमा उत्पादन हुने तोरीको तेलले स्थानीय उत्पादनको छुट्टै पहिचान बनाउँदै गएको छ। आँबुखैरेनीका कृषक समूहले कोदोको पिठो, मकैको च्याख्ला र दलहनलाई प्याकेजिङ गरी बजार पठाउन थालेका छन् । यी उदाहरणले कृषि उत्पादनलाई व्यवसायमा रूपान्तरण गर्न सकिने स्पष्ट सन्देश दिएका छन् ।

 

तर यति हुँदाहुँदै पनि कार्यक्रमको दायरा अझै सीमित छ । अधिकांश किसान परम्परागत शैलीमै उत्पादन बिक्री गरिरहेका छन् । कतिपय किसानलाई ब्रान्डिङ र प्याकेजिङको महत्वबारे पर्याप्त जानकारी छैन भने धेरैसँग आवश्यक पूँजी, प्रविधि र बजार पहुँचको अभाव छ । यसले गर्दा गुणस्तरीय उत्पादन भएर पनि बजारमा प्रतिस्पर्धा गर्न कठिन भइरहेको छ । आजको उपभोक्ता केवल वस्तु मात्र किन्दैन, उसले विश्वास किन्छ । प्याकेटमा उत्पादनको नाम, उत्पादक, उत्पादन मिति, तौल र गुणस्तरको जानकारी देखेपछि उपभोक्ता निर्धक्क भएर खरिद गर्छ । यही कारण बजारमा एउटै वस्तुको मूल्य पनि ब्रान्डअनुसार फरक हुन्छ । त्यसैले स्थानीय उत्पादनलाई प्रतिस्पर्धी बनाउन ब्रान्डिङ अब विलासिता होइन, आवश्यकता बनिसकेको छ । सरकारले पनि कृषि अनुदानलाई उत्पादनमा मात्र सीमित नराखी मूल्य अभिवृद्धि, प्रशोधन, प्याकेजिङ र बजार व्यवस्थापनमा केन्द्रित गर्नुपर्छ । किसानलाई उत्पादन गर्न सिकाउनेभन्दा पनि उत्पादन बेच्न सक्ने वातावरण बनाइदिनु आजको आवश्यकता हो । त्यसका लागि खाद्य गुणस्तर प्रमाणीकरण, अनुज्ञापत्र, बजार पहुँच, डिजिटल बजार, सहकारीमार्फत सामूहिक ब्रान्ड विकास र निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।

 

स्थानीय तहको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । प्रत्येक पालिकाले आफ्नो विशेष उत्पादनको पहिचान गरी त्यसलाई …एक पालिका–एक ब्रान्डÚ अभियानसँग जोड्न सक्छ । कुनै पालिकाको पहिचान बेसार, कुनैको मह, कुनैको सातु, कुनैको तोरीको तेल वा चामल बन्न सक्छ। यसले स्थानीय अर्थतन्त्रलाई मात्र होइन, पर्यटन र स्थानीय पहिचानलाई समेत बलियो बनाउनेछ । कृषि विकास कार्यालयले आगामी वर्ष यस्ता कार्यक्रमलाई विस्तार गर्ने तयारी गरेको जनाएको छ । यो सकारात्मक संकेत हो। तर कार्यक्रम सफल बनाउन कार्यालय, स्थानीय तह, सहकारी, कृषि उद्यमी, खाद्य प्रविधि कार्यालय र निजी क्षेत्रबीच प्रभावकारी समन्वय अपरिहार्य छ। किसानलाई उत्पादनदेखि बजारसम्मको सम्पूर्ण श्रृंखलामा साथ दिन सकिए मात्र यस्ता कार्यक्रमको वास्तविक उद्देश्य पूरा हुनेछ।

 

नेपालको कृषि अब केवल उत्पादनमुखी भएर पुग्दैन । अब मूल्यमुखी कृषि आवश्यक छ । किसानको पसिनाको उचित मूल्य दिलाउने सबैभन्दा प्रभावकारी माध्यम भनेकै प्रशोधन, ब्रान्डिङ, प्याकेजिङ र बजार व्यवस्थापन हो । तनहुँमा सुरु भएको यो अभ्यासलाई सीमित कार्यक्रमका रूपमा होइन, कृषि रूपान्तरणको अभियानका रूपमा विस्तार गर्न सकियो भने स्थानीय उत्पादनले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो पहिचान बनाउन सक्छ । अन्ततः किसानको समृद्धि खेतमा फल्ने अन्नले मात्र होइन, त्यस अन्नले बजारमा पाउने पहिचानले निर्धारण गर्छ । उत्पादनलाई ब्रान्ड बनाउन सकियो भने किसानको आम्दानी बढ्छ, गाउँको अर्थतन्त्र चलायमान हुन्छ र नेपाली कृषि आत्मनिर्भरतातर्फ एक कदम अगाडि बढ्छ । तनहुँले सुरु गरेको यो यात्रा त्यस दिशातर्फको एउटा महत्वपूर्ण संकेत हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker