भिमादको सिद्ध र चमेरे गुफाको प्रचारमा साइकल यात्रा

भिमाद : तनहुँको भिमाद नगरपालिका–९ मा रहेका ऐतिहासिक तथा पर्यटकीय महत्वका सिद्ध गुफा र चमेरे गुफाको प्रचारप्रसार गर्ने उद्देश्यले शुभदीपावली विशेष साइकल यात्रा आयोजना गरिएको छ ।
साइकल क्लब शुक्लागण्डकीको आयोजनामा सम्पन्न यात्रामार्फत स्थानीय पर्यटकीय गन्तव्यको पहिचान, संरक्षण तथा प्रवर्द्धन गर्दै आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने प्रयास गरिएको हो ।
साइकल यात्रीहरूले गुफाको अवलोकन गर्दै त्यहाँको प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावनाबारे प्रचारप्रसार गरेका थिए । पर्वको अवसरमा आयोजित यात्राले आपसी सद्भाव, भाइचारा र शुभकामना आदानप्रदानलाई समेत जोड दिएको आयोजकले जनाएको छ ।
ओझेलमा परेका स्थानीय पर्यटकीय गन्तव्यको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा यस्ता अभियानले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।










