पृथ्वीराजमार्ग स्तरोन्नती : जामुने-पोखरा खण्डको शुक्लागण्डकीको हलेदीमा “परीक्षण कालोपत्र”

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाको पश्चिम खण्डमा परीक्षण कालोपत्र सुरु गरिएको छ । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने-पोखरा अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-२ हलेदीमा परीक्षणका लागि कालोपत्र गरिएको हो ।

पहिलो दिन बिहीबार ३५० मिटर एकतर्फी सडक कालोपत्र भएको पश्चिम खण्डका योजना प्रमुख राजेश पौडेलले बताए । उनका अनुसार अहिले गरिएको कालोपत्र परीक्षणका लागि भएको र यसको प्राविधिक रुपमा योग्य भएमा फागुनको अन्तिमसम्म एकतर्फीरुपमा पाँच किलोमिटर सडक खण्ड कालोपत्र गर्ने लक्ष्य छ ।

म्याग्दे गाउँपालिकास्थित जामुने र शुक्लागण्डकी नगरपालिकास्थित बेलचौतारा र कोत्रेबाट पनि कालोपत्रको काम अगाडि बढ्ने उनले बताए । उनले भने, ‘अब कामले तीव्रता पाउँछ, निरन्तर कालोपत्रको काम अगाडि बढ्छ । आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा छन् ।’

पहिलो चरणमा एकतर्फी मात्रै कालोपत्र हुने र एकतर्फीको काम अगाडि बढेपछि दुइतर्फी नै कालोपत्र गरिने उनले बताए । सडक आयोजनाले अस्फाल्ट प्रविधिबाट कालोपत्रको कामलाई अगाडि बढाएको छ ।

पश्चिम खण्ड अन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । यो खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको थियो ।

धुलो र हिलालेले आजित भएका स्थानीय बासिन्दा कालोपत्र सुरु भएपछि आशावादी बनेको स्थानीय शंकर पन्तले बताए । उनले भने, ‘सडक विस्तारको काम सुरु भएको लामो समयपछि कालोपत्रको काम अगाडि बढ्दा स्थानीयवासी खुसी छन् । धुलो, हिलो र खाल्डाखुल्डी सडकले आजित बनाएको थियो । गुणस्तरीय काम गराउनका लागि हामीले पनि निरन्तर अनुगमन गर्नेछौं ।’

मुग्लिन पोखरा सडक विस्तारका लागि यो खण्डमा काम निकै सुस्त थियो । हालै भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री प्रकाश ज्वालाले दुइ पटक यो खण्डको स्थलगत अनुगमन गर्दै कामलाई तीव्रता दिन निर्देशन दिएका छन् । पश्चिम खण्डमा हाल २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा रहेको जनाइएको छ । यो खण्ड अन्तर्गत दुलेगौडा र मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्लेखोलामा १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्र हुने जनाइएको छ ।

यसैगरी पूर्वी खण्डमा भने १९.५ किमी सडकखण्ड कालोपत्र भइसकेको छ । आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म उक्त दूरीमा कालोपत्र सकिएको हो । मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बन्दीपुर गाउँपालिका-१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका-१ सत्रसय, बरादी खण्डमा कालोपत्र सकिएको जानकारी दिए । त्यसमध्ये ७.२ किमी खण्डमा दुइतर्फी नै कालोपत्र सकिएको छ ।

पूर्वी खण्ड अन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ । यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रको काम अगाडि बढेपछि यात्रामा सहजता आएको छ । पूर्वी खण्ड अन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको काम सुरु भएको छ । व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदीमाथि रु एक २१ करोड लागतमा ‘आर्क डिजाइन’मा पुल बन्दैछ ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker