बेमौसमी मकै खेतीबाट मनग्य आम्दानी

मध्यविन्दु (नवलपरासी : नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ का तिलकप्रसाद रिजालले अहिले दुई बिघा क्षेत्रफलमा मकैखेती गर्नुभएको छ । विगत १५ वर्षदेखि बेमौसमी मकैखेती गर्दै आउनुभएका उहाँले हिउँदे मकैखेतीबाट रु पाँच लाख आम्दानी गर्ने गर्नुभएको छ ।

रिजालले भन्नुभयो, “हरियो मकै बिक्रीका लागि समस्या नहुने तथा उत्पादन पनि राम्रो हुने भएकाले हामी मकै खेती गर्न थालेका छौँ ।” रिजाल पशु विकास कृषि फार्म दर्ता गरी व्यावसायिक रूपमा मकैखेती गर्दै आउनुभएका उहाँले हिउँदे मकै बिक्री गरी एउटा याममा चार लाखदेखि रु पाँच लाखसम्म आम्दानी गर्न थाल्नुभएको छ ।

“बाह्रै महिना मकै उत्पादन हुने भएकाले यहाँका किसानले व्यावसायिक मकै खेती गरेर जिल्ला बाहिर बिक्री गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “हरियो मकैको प्रतिघोगा रु पाँचदेखि रु दशका दरले तथा सुक्खा प्रतिक्विन्टल रु तीन हजारका दरले बिक्री हुने गरेको छ ।”

बर्खे धान रोप्ने ठाउँमा दुई बाली र मकैमात्र लगाउँदा राम्रोसँग तीन बाली उत्पादन गर्न सकिने हुँदा आफूले पनि व्यावसायिक मकैखेती गर्दैआएको गैँडाकोटकै सरस्वती सापकोटाले बताउनुभयो । व्यावसायिक मकैबाट राम्रो आम्दानी भएको र परिवारको खर्च धान्न पुग्ने उहाँले बताउनुभयो ।

हरियो मकै पोलेर खान स्वादिष्ट हुने भएकाले मकै धेरै बिक्री हुनेगरेको सडक किनारमा मकै पोलेर बेच्दै आउनुभएकी स्थानीय सावित्री शर्माले बताउनुभयो । “प्रतिघोगा रु पाँचदेखि रु दशमा खरिद गरेर रु २० देखि रु २५ मा पोलेको मकै बिक्री हुने गरेको छ”, उहाँले भन्नुभयो ।

गैँडाकोट नगरपालिकाका किसान बेमौसमी मकैखेतीबाट मनग्य आम्दानी गर्दैआएका छन् । यहाँ उत्पादन भएको मकै जिल्लाको माग धानेर देशका मुख्य सहरमा बिक्रीका लागि पठाउने गरिएको छ । जिल्ला बाहिर नारायणघाट, बुटवल, काठमाडौँ, पोखरालगायत मुख्य सहरमा मकै बिक्री गर्न लैजाने गरेको स्थानीयले बताएका छन् ।

गैँडाकोट–६, ७ र ८ वडालाई मकैको पकेट क्षेत्रको रूपमा घोषणा गरिएको गैँडाकोट नगरपालिका कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माले बताउनु भयो । “गैँडाकोट–५, ६, ७, ८ र ९ नम्बर वडामा बेमौसमी मकै उत्पादन हुनेगरेको छ, बाह्रैमास मकै उत्पादन हुनेभएकाले पनि यहाँका स्थानीय कृषक मकै व्यापारमा आकर्षित भएका छन्”, उहाँले भन्नुभयो ।

गैँडाकोट नगरपालिकाभित्र ६६ हेक्टर क्षेत्रफलमा हिउँदे मकै लगाउने गरिएको छ । प्रतिहेक्टर चार सय ६२ मेट्रिक टन मकै उत्पादन भएको शर्माले बताउनुभयो । “आर्थिक वर्ष २०७८÷७९ मा प्रतिहेक्टर तीनसय ५० मेट्रिक टन उत्पादन भएको थियो”, उहाँले भन्नुभयो, “आव २०७९÷८० मा एक सय १२ मेट्रिक टनले उत्पादनमा वृद्धि भई चार सय ६२ मेट्रिक टन मकै उत्पान भएको छ ।”

गैँडाकोटमा बर्खे मकै सात हजार तीनसय ३३ हेक्टर क्षेत्रफलमा लगाइएको तथ्याङ्क छ । हिउँदको समयमा लगाएको हरियो मकै मात्र रु तीन करोड बढीको गैँडाकोट क्षेत्रबाट बिक्री हुने गरेको शाखा प्रमुख शर्माले जानकारी दिनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker