मनाङमा हिमपातमै बुस्टर खोप अभियान

मौसम बदली भएपछि हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ । हिमपातकै अवस्थामा पनि यहाँ कोभिड–१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर छ महिना पूरा भएका नागरिकका लागि कोरोना सङ्क्रमणविरुद्धको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउन अतिरिक्त खोपको रुपमा ‘बुस्टर’ खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । कोभिशिल्ड र भेरोसेल खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि १२ देखि १८ वर्षमुनिका बालबालिकालाई मोडर्ना खोप लगाइएकामा दोस्रो मात्राको सो खोप पनि जिल्लामा आइसकेको छ । प्रमुख आचार्यले बुधबार सदरमुकाम चामेस्थित रण दल गुल्ममा नेपाली सेना र सशस्त्र प्रहरी तथा जिल्ला अस्पतालमा स्वास्थ्यकर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई बुस्टर खोप लगाइएको बताउनुभयो । माघ ६ गते जिल्ला अस्पतालमा सार्वजनिक सेवामा खटिने व्यक्तिलाई बुस्टर खोप लगाइएको थियो ।

हिमपातका बीच मनाङमा बुस्टर खोप अभियान सञ्चालन भइरहेको छ । नासों गाउँपालिकामा तोकिएका केन्द्रमार्फत माघ ७ गते लक्षित सबै वर्गका व्यक्तिलाई बुस्टर डोज खोप लगाइएको जनाइएको छ । माघ १० गते चामे गाउँपालिका, माघ २० गते मनाङ ङिस्याङ गाउँपालिकामा बुस्टर डोज खोप लगाइने स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । बढी चिसोका कारण नार्पाभूमि गाउँपालिकामा भने समय तोक्न सकिएको छैन ।

जाडोका कारण नार्पाभूमिवासी जिल्लामा नरहेकाले पनि समय तोक्न नसकिएको हो । “नार्पाभूमिवासी फागुन महिनाको दोस्रो सातामात्रै जिल्ला फर्कने भएकाले उनीहरु फर्किनासाथ बुस्टर डोज खोप लगाउने व्यवस्था गरिएको छ”, आचार्यले भन्नुभयो ।

मनाङ सबैभन्दा पहिलो कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला हो । विसं २०७७ माघ महिनामा नै १८ वर्षमाथिका उमेर समूहका मनाङ जिल्लावासीले पूर्ण मात्रा खोप लगाइसकेका छन् । बाह्रदेखि १७ वर्ष उमेर समूहका बालबालिका सबैलाई भने खोप लगाइसकिएको छैन । हिउँदमा चिसोका कारण जिल्ला बाहिर बसाइँ जाने भएकाले बालबालिकालाई खोप लगाउन नसकिएको स्वास्थ्य प्रमुख आचार्यले बताउनुभयो ।

जिल्लाका तीन स्थानीय तहका १२ देखि १८ वर्षमुनिका बालबालिकाले मोडर्नाको पहिलो डोज खोप लगाएका थिए । तर नार्पाभूमि र माथिल्लो मनाङका बालवालिकाले भने मोडर्ना खोप लगाउने मौका पाएनन् । पहिलो मात्रा खोप लगाएका बालबालिकालाई बुस्टर डोज लगाइसकेपछि दोस्रो मात्रा लगाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । हिउँदयामको अत्यधिक चिसो र हिमपातका कारण स्थानीय नागरिकसँगै त्यहाँका बालबालिका बँेसी झरेकाले त्यहाँ मोडर्ना खोप अभियान प्रभावित बनेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker