वर्ष फेरिने दिन, गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदै (तस्विरसहित)

गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक वर्ष १५ पुसमा मनाइने यो पर्वलाई तोला ल्होसार पनि भनिन्छ ।
तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् ।

यो पर्व गुरुङ समुदायले ‘हि ल्हो’ (बिरालो वर्ग)लाई विदाई गर्दै मुप्रील्हो (गिद्ध वर्ग)लाई स्वागत गरेर भव्यरूपमा मनाउँदै छन् ।

गुरु समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन छ ।

तनहुँका १० वटै स्थानीय तहमा बसोवास गर्ने गुरुङ समुदायले विविध कार्यक्रम गरी यो पर्व मनाएका छन् ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्य रहेको ठाउँमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

यस्तै, नेपालमा गुरुङसँगै तामाङ, शेर्पा लगायत अन्य हिमाली समुदायले पनि ल्होसार पर्व मनाउँछन् । तर, उनीहरूले मनाउने ल्होसारको नाम भने फरक फरक छ ।

तामाङहरूले मनाउने ल्होसारलाई सोनाम ल्होसार भनिन्छ भने शेर्पा समुदायले मनाउने ल्होसारलाई ग्याल्बो ल्होसार भनिन्छ ।

आफ्नो जातीय पहिचान झल्कने भेषभूषामा सजिएर गुरुङ समुदायले साँस्कृतिक झाँकी, साँस्कृतिक कार्यक्रम, विभिन्न खेलकुदका गतिविधि, खानपिन तथा नाचगान गरी शुभकामना आदानप्रदान गरेका छन् ।


सरकारले तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा समेत दिएको छ ।










