तनहुँको देवघाटमा ७४ थान अवैध सालको काठ सहित बोलेरो जीप नियन्त्रणमा
आशिक राना (देवघाट)

इलाका प्रहरी कार्यालय देवघाटले अवैध सालको काठ सहित बोलेरो जीप नियन्त्रणमा लिएको छ । तनहुँ प्रहरीका अनुसार देवघाटमा गएराति ७४ थान अवैध सालको काठ सहित बुलेरो जीपलाई नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय देवघाटले गएराति करिब २ बजेतिर देवघाटको घिनटारबाट अवैध सालको काठ सहित ना२च ७३७५ नम्बरको बुलेरो जीप नियन्त्रणमा लिएको कार्यालयका इन्चार्ज सुशील लामिछानेले बताए ।

नियन्त्रणमा लिइएको जीपबाट ४८.९५ क्युफिट सालको काठ रहेको देवघाट सव डिभिजन वन कार्यालय प्रमुख नवराज ढकालले जानकारी दिए । बरामद काठ, गाडी र चालकलाई थप अनुसन्धान र कारवाहीको लागि मुचुल्का उठाइ डिभिजन वन कार्यालय तनहुँ पठाइएको छ ।

बरामद काठको मूल्य बजार भाउ अनुसार करिब चार लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ ।










