म्याद सकियो, आयोजना सम्पन्न भएन

लमजुङ : सिउरी न्यादी हाइड्रो पावर कम्पनीद्वारा लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ ङादीखोलामा निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनाको म्याद सकिए पनि काम भने अझै सम्पन्न हुन सकेको छैन । आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पिपीए) अनुसार दुई वर्षभित्र अर्थात् (२०८१ असारभित्र) विद्युत् उत्पादन सुरु गरिसक्नुपर्ने थियो । तर अझै करिब २० प्रतिशत निर्माण कार्य बाँकी रहेको छ ।

निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि एक वर्ष म्याद थप गर्दै आगामी २०८२ असार महिनासम्ममा आयोजनाको काम सम्पन्न गर्ने गरी अघि बढेको आयोजनाका प्रबन्धक निर्देशक दिनेश गुरुङले बताउनुभयो । उहाँले निर्धारित समयमा काम सम्पन्न गर्ने गरी अघि बढेको उक्त आयोजना कोरोना महामारीका कारण सम्पन्न गर्न समय लागेको बताउनुभयो । “एक दिनमा हुने काम सात दिन लाग्ने, सामग्री ढुवानी गर्न समस्या, कामदार आउन समस्या, २२० केभी प्रसारण लाईनको ट्रान्समिसन लाईन सम्पन्न नभएका कारणले निर्माणमा ढिलाइ भएको प्रबन्धक निर्देशक गुरुङले बताउनुभयो ।

आयोजनाको विद्यृत् गृह पुग्ने पहुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ सम्पन भएको छ । विद्युत्् गृह निर्माणका लागि ३८७ मिटर सुरुङ मार्ग निर्माण गर्ने, भूमिगत विद्युत् गृह खन्ने, सुरुङका लागि दुईवटा अडिट टनेलसहित पाँच सय मिटर खन्ने लगायतका काम सम्पन्न भइसकेका छन् । साथै बाँधसम्मको २२ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएको प्रबन्धक निर्देशक गुरुङले बताउनुभयो ।

आगामी असोज १ गते ८ किलोमिटरको सुरुङ पनि ब्रेक थ्रू हुने तयारीमा रहेको छ । पेनस्टक र विद्युत् गृहको काम अन्तिम चरणमा पुगेको छ । जी एण्ड जी इन्फ्र प्राइभेट लिमिटेडले निर्माण गरिरहेको उक्त आयोजनामा एनएमबी बैंकको अगुवाइमा ६ वटा वित्तीय संस्थाले रु पाँच अर्ब २५ करोड ऋण लगानी गरेका छन् । प्रवदद्र्धकको स्वपुँजी रु एक अर्ब ७५ करोड रहने छ ।

उक्त बैंक एवं वित्तीय संस्थाको ७५ प्रतिशत र प्रवद्र्धकको २५ प्रतिशत रहने आयोजनाले जनाएको छ । करिब रु सात अर्ब लागतमा निर्माणकार्य सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । समयमै सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रबन्ध निर्देशक गुरुङले बताउनुभयो ।

आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत् गृहदेखि ११ किलोमिटर टाढाको टारीकुनामा निर्माण गरिने १३२ केभी प्रसारण लाइन खुदी सबस्टेसनमा जोडिने भएको छ । सबस्टेसनसम्मको प्रसारण लाइनमध्ये करिब ६ किलोमिटर आयोजनाले नै निर्माण गर्ने भएको छ । आयोजनाका अनुसार वर्षातको ६ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र ६ महिनाको हिउँदयाममा आठ रुपैयाँ ४० पैसाको दरले विद्युत् खरिदबिक्री गर्ने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker