भानु नगरपालिकाले ल्यायो एम्बुलेन्स, विपन्नलाई निःशुल्क सेवा
भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाले एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याउने तयारी गरेको छ । नगरपालिकाका १३ वटै वडाका बासिन्दालाई सहज रुपमा स्वास्थ्य संस्थासम्मको पहुँचमा पुर्याउन नगरपालिकाले एम्बुलेन्स खरिद गरेको स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराइले बताए ।
नगरपालिकाले भन्सार छुट सहित ९ लाख ५० हजारमा एम्बुलेन्स खरिद गरिएको स्वास्थ्य शाखा प्रमुख भट्टराइले बताए । उनले भने, ‘नगरपालिकाको आफ्नै एम्बुलेन्स नहुँदा नगरवासीले महङ्गो शुल्क तिरेर निजीस्तरबाट सञ्चालित एम्बुलेन्स भाडामा लिनुपर्ने बाध्यता थियो। अब त्यो समस्याको अन्त्यका लागि नगरपालिकाले एम्बुलेन्स खरिद गरी ल्याएको हो ।’
नगरभित्र बसोबास गर्ने विपन्नलाई एम्बुलेन्स निःशुल्क प्रदान गर्ने योजना नगरपालिकाले बनाएको नगर उपप्रमुख आशा थापा मगरले बताइन । ‘एम्बुलेन्स शुल्क तिर्न कठिन हुने विपन्न परिवारलाई निःशुल्क सेवा दिनु योजनामा छौं’ उनले भनिन्, ‘एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापनका लागि समिति गठन गरी नगरवासीलाई सहज रुपमा सेवा दिइने छ ।’
यस एम्बुलेन्समा अक्सिजन लगायतका आवश्यक प्रविधिहरु जडान गरी सुविधासम्पन्न बनाउने नगरपालिकाले जनाएको छ ।










