सभागृहको नामप्रति आपत्ति : जिसस प्रमुखलाई तनहुँका आठ दलले बुझाए ध्यानाकर्षण पत्र
भञ्ज्याङ न्यूज

निर्माणाधिन जिल्ला सभागृह भवनको नामाकरणको विषयलाई लिइएर तनहुँका आठ राजनीतिक दलले आपत्ति जनाउँदै ध्यानाकर्षण पत्र बुझाएका छन् । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलाई सोमबार ध्यानाकर्षणपत्र बुझाउँदै नामका विषयमा आपत्ति जनाएका हुन् ।
व्यास नगरपालिका-३ बिपी बनबाटिकासंगै निर्माणधीन ७५० जना क्षमताको जिल्ला सभागृहको नाम मेटाएर जिल्ला समन्वय समितिको बैठकले बिपी सदन सभागृह राख्ने निर्णयप्रति असन्तुष्ट जनाउँदै उक्त पत्र बुझाएका हुन । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल ४ नं. प्रदेश समितिका अध्यक्ष नेत्र रानाभाटको नेतृत्वमा गएको टोलीले जिसस प्रमुख वाग्लेलाई उक्त ध्यानाकर्षण पत्र बुझाएका छन् ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी, नेपाल कम्युनिष्ट पार्टी मसाल, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले संयुक्त रुपमा हस्ताक्षर गरी उक्त पत्र बुझाएका हुन् ।

गत हप्त बसेको जिल्ला सभाको बैठकले निर्माणाधीन सभागृहको नाम ‘बिपी सदन’ राख्ने निर्णय गरेको थियो । व्यास नगरपालिकाले सभागृहको नाम बिपी सदन राख्न कार्यपालिकाको बैठकको निर्णय गरी माग गरेको थियो । नगरपालिकाको मागबमोजिम यही चैत ९ गते बसेको जिल्लासभाको बैठकले सभागृहको नाम बिपी सदन राख्ने निर्णय गरेको जिल्ला समन्वय अधिकारी थमनसिं थापाले बताए । जिल्लासभामा समन्वय समितिका प्रमुख, उपप्रमुख, चार नगरपालिकाका प्रमुख र उपप्रमुख तथा छ गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष सदस्य रहन्छन् ।
सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ कास्कीमार्फ निर्माण भइरहेको भवन अन्तिम चरणमा पुगेको छ । विसं २०७४ माघ २८ गतेदेखि निर्माण सुरु भएको भवन कोरोना कहरका कारण ढिलाइ भएको थियो । विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्नुपर्ने उक्त भवन कोरोनाको चपेटामा परेको थियो । कोरोना कहरका कारण भवन निर्माणको म्याद चैत मसान्तसम्म थप भएको छ ।
भ्याटबाहेक रु २३ करोड ६२ लाख ४३ हजार ३३१ को लागतमा निर्माण भइरहेको भवन विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौँस्थित डाँफे/एमए/प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो । सोही ठाउँमा रहेको पुरानो सभागृह भत्काएर विसं २०७४ माघ २८ गतेदेखि भवन निर्माण सुरु भएको थियो ।
सभाहल निर्माण सम्पन्न भएको मितिदेखि एक वर्षसम्म मर्मतसम्भारको अवधि राखिएको छ । ७५० क्षमता भएको सभाहलको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ । उक्त भवनमा मुख्य सभाहलबाहेक १५० जना क्षमताको सेमिनार हल निर्माण हुनेछ । सभाहल बाहिर फाउण्टेन सहितको भिआइपी पार्किङस्थल समेत रहनेछ। सभाहल ५३ मिटर लम्बाइ, १५ उचाइ र २५.५ चौडाइको हुनेछ।
उक्त भवनको साविकको इतिहास मेटाएर बिपी सदन सभागृह नामाकरण गर्ने जिल्ला सभा तनहुँको निर्णय प्रति राजनीतिक दलहरुको गम्भीर ध्यानाकर्षण भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । भवनको नाम बिना कारण परिवर्तन गरिनुले समग्र जिल्लबासी जनसमुदायको मन मुटुमा चोट पुगेको भन्दै निर्णय खारेज गरी साविकको नाम कायम गर्न दबाब स्वरुप ध्यानाकर्षण गरिएको बताइएको छ ।
ध्यनाकर्षण पत्रमा नेपाली काँग्रेसका नेता बिश्वेश्वर प्रसाद कोइरालाई अनावश्यक रुपमा विवादित बनाई प्रजातान्त्रिक आन्दोलनको उच्च छविलाई ओझेलमा पार्ने कार्य भएको छ । नाम नै परिवर्तन गर्नुपर्ने देखि देखि सो को बारेमा राजनीतिक दल, सरोकारवलाहरुसंग बृहत्तर छलफल गर्नुपर्नेमा सो नगरी स्थापित जिल्ला सभागृहको नाम परिवर्तन गर्न खोज्नु दुःखद पक्ष भएको भनिएको छ ।










