शुक्लागण्डकी-३ नं वडा कार्यालयमा तोडफोड,तोडफोडमा संलग्न पक्राउ नपरेसम्म कार्यालय बन्द हुने
भञ्ज्याङ न्युज

गएराती शुक्लागण्डकी वडा नं३ को वडा कार्यालयवनमा तोडफोड भएको छ ।वडा कार्यालय भवको एउटा झ्याल र बरण्डामा सजाएर राखिएका फुलसहितका गमलाहरुमा क्षति पुगेको वडाध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । वडाध्यक्ष श्रेष्ठको अनुसार यस अघि पनि दुई पटक वडा कार्यालयको सामान तोडफोड गरिएको थियो ।स्थानीय उश्रृङखल युवाहरुले तोडफोड गरेको हुनसक्ने आशंका गरिएको छ ।
कार्यालयको एउटा झ्यालको सिसा चर्किएको र गमलाहरु यत्रतत्र फ्याकिएको पाइएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए ।”सामान्य तोडफोड भएको पाइएको छ”-उनले भने-घट्नामा संलग्न हुनसक्ने शंकास्पद व्यक्तिहरुको नाम टिपोट गरेर ल्याएका छौँ,हामी ती व्यक्तिहरुबारे बुझ्दै छौँ ।”
यसअघि पनि स्थानीय एक युवाले वडा कार्यालयको होडिङ्ग बोर्ड तथा कागजपत्रमा क्षति पुर्याएका थिए । उनले टोलवासी तथा वडा समितिका पदाधिकारी सामु आगामी दिनमा कुनै किसिमको अपराधिक गतिविधिमा संलग्न नहुने भन्दै सार्वजनिक रुपमा माफी मागेका थिए ।
तोडफोडको घट्ना पश्चात सरोकारवाला निकायहरुबीच भएको छलफलले तोडफेडमा संलग्न व्यक्तिहरु पक्राउ नपरेसम्म वडा कार्यालय बन्द गर्ने निर्णय गरेको छ । शिवालय टोल विकास संस्थाका अध्यक्ष पुननारायण श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा टोलवासी,वडा समिति,नगर प्रतिनिधि ,राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।
सार्वजनिक सम्पत्ति वडा कार्यालयमा पटक पटक तोडफोड भएको भन्दै वडाबाट उपलब्ध गराइने सवै सेवा सुविधा बन्द गर्ने निर्णय गरिएको वडाध्यक्ष श्रेष्ठले पुष्टि गरे ।उनले भने-“अहिलेसम्म तीन पटक तोडफोड भइसक्यो,यो त अत्ति भो नि । सरोकारवाला सवैको रोहवरमा वडा कार्यालय बन्द गर्ने निर्णय गरेका हौँ ।” टोलबासीवाटै असुरक्षा हुन्छ भने वडा कार्यालय नै अन्यत्र सार्छौ, उनले चेतावनी दिए ।
उनका अनुसार नागरिकका अत्यावश्यक सेवाहरु भने नगरपालिका र भुलभुले बाराही टोल विकास संस्था टारबाट उपलब्ध गराइने भएको छ ।










