भानुभक्त क्याम्पसमा फलफूलका बिरुवा रोपियो, वृक्षारोपणलाई संरक्षणसँग जोड्नुपर्नेमा जोड

क्याम्पसका लागि २० लाख बजेट विनियोजन

बेलचौतारा : नेपाल वन पैदावार उद्योग व्यवसायी समिति, तनहुँले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा एक सय फलफूलका बिरुवा रोपेर वृक्षारोपण गरेको छ ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले वृक्षारोपणलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी संरक्षण र दीर्घकालीन व्यवस्थापनसँग जोड्नुपर्ने आवश्यकता औल्याएका छन् । विगतमा विभिन्न निकायबाट वृक्षारोपण गरिए पनि बिरुवाको संरक्षण र नियमित हेरचाहको अभावमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै उनले परिणाममुखी वृक्षारोपण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

नगर प्रमुख पण्डितले शुक्लागण्डकी नगरपालिकाले भानुभक्त बहुमुखी क्याम्पसको शैक्षिक तथा भौतिक विकासलाई प्राथमिकतामा राख्दै चालु आर्थिक वर्षमा फर्निचर व्यवस्थापनका लागि रु. २० लाख बजेट विनियोजन गरेको जानकारी गराए ।

विद्यार्थीको सहज आवतजावतका लागि आगामी दिनमा क्याम्पस बस सञ्चालन गर्न आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

कार्यक्रममा जिल्ला वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले वृक्षारोपणलाई लक्ष्य र उद्देश्यअनुसार सञ्चालन गर्नुपर्ने बताउँदै वन कार्यालयले विभिन्न व्यवसायिक संस्था तथा स्थानीय निकायसँग सहकार्य गरी जिल्लाका विभिन्न क्षेत्रमा हरियाली प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।

उनका अनुसार तनहुँ जिल्लामा हालसम्म करिब १८ हजार हेक्टर क्षेत्रमा वृक्षारोपण सम्पन्न भइसकेको छ भने जिल्ला वन कार्यालयमार्फत ३८ हजारभन्दा बढी बिरुवा वितरण गरिएको छ । वातावरण संरक्षण, जैविक विविधताको संवद्र्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिइने उनले बताए ।

कार्यक्रममा भानुभक्त बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाकुमार श्रेष्ठ, उपाध्यक्ष तथा शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष दीर्घबहादुर थापालगायतले वृक्षारोपणको महत्व, हरियाली संरक्षण तथा रोपिएका बिरुवाको नियमित हेरचाह आवश्यक रहेकोमा जोड दिएका थिए ।

नेपाल वन पैदावार उद्योग व्यवसायी समिति, तनहुँका अध्यक्ष दीपबहादुर श्रेष्ठका अनुसार कार्यक्रममा क्याम्पस परिसरमा एक सय वटा फलफूलका बिरुवा रोपिएको छ । रोपिएका बिरुवामा मुख्य रूपमा आँप र लिचीका बिरुवा रहेका छन् ।

समितिले शैक्षिक संस्थामा हरियाली वातावरण विस्तार गर्नुका साथै भविष्यमा विद्यार्थी तथा समुदायले फलफूलबाट प्रत्यक्ष लाभ लिन सकून् भन्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

सहभागीहरूले वृक्षारोपणलाई सफल बनाउन रोपिएका बिरुवाको संरक्षण र नियमित स्याहारमा सबै पक्षको समान जिम्मेवारी रहने बताएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker