आगलागी पीडितलाई अमेरिकाबाट आर्थिक सहयोग
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-४ मा गत फागुन २२ गते भएको आगलागीबाट पीडित भएकालाई अमेरिकाबाट सहयोग प्राप्त भएको छ । तेह्रथुम घर भई हाल अमेरिकामा रहेका हेम थापाले आगलागीबाट घर जलेका व्यक्तिलाई सहयोग गर्ने उद्देश्य स्वरुप रु ५० हजार पठाएका हुन् ।
भूपाल हार्डवेयरबाट सुरु भएको आगलागीका कारण हार्डवेयर आसपास रहेका घरहरुमा क्षति पुगेको थियो । घरमा क्षति पुगेका व्यक्तिहरुलाई केही सहयोग होस् भन्ने उद्देश्यले हेम एण्ड माया फाउण्डेशनमार्फत उक्त सहयोग गरेको थापाले बताए। ‘आगलागीबाट पीडित भएकाहरुलाई सबैले सहयोग गर्नुपर्छ, मैले गरेको सहयोगले अरुलाई पनि उत्प्रेरणा मिल्ने विश्वास लिएको छु’, उनले भने ।
आगलागीका समाचार विभिन्न माध्यमबाट थाहा पाएपछि थापाले सहयोग गर्ने इच्छा व्यक्त गरेका थिए । थापाले नेपाली कांग्रेस तनहुँका जिल्ला सचिव लक्ष्मीभक्त खनालमार्फ् उक्त सहयोग गरेका हुन् । खनालले व्यास नगरपालिका-४ का वडाध्यक्ष विश्वराज न्यौपानेलाई सोमबार उक्त रकम हस्तान्तरण गरेका छन् । सोक्रममा खनालले आगलागीका कारण घर जलेका व्यक्तिहरुलाई वडा कार्यालयले समन्वय गरेर रकम हस्तान्तरण गर्न आग्रह गरे ।
वडाध्यक्ष न्यौपानेले हार्डवेयरले बीमा गरेपनि व्यक्तिगत घरको बीमा नभएकाले उनीहरुलाई थप क्षति भएको बताउँदै सहयोग रकमप्रति आभार व्यक्त गरे ।
हेम थापा र उनकी श्रीमती माया थापाले आफ्नै कमाइबाट हेम एण्ड माया फाउण्डेशन संस्था सञ्चालन गरी हाल २१ जना असहाय विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउँदै आएका छन् । उक्त फाउण्डेशनमार्फत देशका विभिन्न ठाउँमा असहाय, पीडितहरुलाई सहयोग गर्दै आएको बताइएको छ । आगलागीबाट भूपाल हार्डवेयर, ज्योति सप्लायर्सका साथै क्या. बलराम राना, होमबहादुर गुरुङ, राममाया गुरुङ, लालबहादुर गुरुङ, चन्द्रमाया विक, दिपक श्रेष्ठको घरमा क्षति पुगेको छ ।










