तनहुँको खैरेनीटारमा चैत २४ गतेदेखि १२औं संस्करणको शुक्लागण्डकी खैरेनीटार महोत्सव
भञ्ज्याङ न्यूज

तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा यही चैत्र २४ गतेदेखि १२औं संस्करणको शुक्लागण्डकी खैरेनीटार महोत्सव २०७८ गरिने भएको छ । तनहुँ उद्योग वाणिज्य संघको खैरेनीटार बजार इकाई समितिले २०६३ सालबाट खैरेनीटार चैतेदशै मेला गर्दै आएको थियो ।
मुलुक संघीय संरचनामा गएसंगै गठन गरिएको शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ, खैरेनीटार बजार इकाई समितिले बिगतमा गर्दै आइएको खैरेनीटार चैतेदशै मेलालाई यस वर्षाट ‘शुक्लागण्डकी खैरेनीटार महोत्सव’ नामाकरण गरी गर्न लागेको हो ।
महोत्सव आयोजकले पत्रकार सम्मेलन गरी कोरोना कहरका कारण दुइ वर्ष कुनै पनि मेला महोत्सव सञ्चालन गर्न नसकिएको र बिगतमा गर्दै आइएको चैतेदशै मेलालाई थप व्यवस्थित र उपलब्धी मुलक बनाउने उद्देश्यका साथ शुक्लागण्डकी खैरेनीटार महोत्सव सञ्चालन गर्न लागिएको जनाएको छ ।
‘आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटन प्रवर्द्धन, शुक्लागण्डकी खैरेनीटार महोत्सव कला, सीप र संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ महोत्सव सञ्चालन गर्न लागिएको इकाई सभापति एवं महोत्सव आयोजक मुल समारोह समितिका संयोजक पूर्णबहादुर कायस्थले बताए ।
महोत्सवमा स्थानीय स्तरमा उत्पादित वस्तुको पहिचान तथा बजारीकरण, आदिवासी जनजातिका भाषा, धर्म, कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धन, उद्यमी एवं व्यवसायीहरुको व्यवसाय प्रवर्द्धनमा टेवा पुर्याउने, पर्यटकीय क्षेत्रको पहिचान तथा पूर्वाधार विकासमा जोड्दिने, खेलकुद, युवामा रहेका कला, सीपको प्रस्फुटन, धार्मिक तथा ऐतिहासिक क्षेत्रहरुको पहिचानका साथै प्रवर्द्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रेहको संयोजक कायस्थले बताएका छन् ।
उक्त पत्रकार सम्मेलनमा शुक्लागण्डकी नगरपालिका वडा नं ७ का अध्यक्ष रामबहादुर थापाले महोत्सव सबैको सहमति र सहकार्यले सफल हुने भन्दै विवादरहित रुपमा महोत्सव सञ्चालन गर्न जोड दिएका छन् । महोत्सवबाट आउने आम्दानीले सामाजिक कार्यमा खर्च गरिने भनिएको तर महोत्सव नै घाटामा जाने अवस्था आउन सक्ने तर्फसचेत गराउँदै उनले स्थानीयले लाभ पाउने गरी महोत्सव सञ्चालन गर्न आग्रह गरेका थिए ।
महोत्सवका निर्देशक समुन्द्रराम श्रेष्ठले चैते दसैं पर्वलाई लक्षित गरी सञ्चालन गर्दै आइएको महोत्सवले यस ठाउँको धार्मिक मठमन्दिरदेखि ऐतिहासिक साँस्कृतिक सम्पदाको प्रचारप्रसार गरी आन्तरिक तथा बाहृय पर्यटक भित्र्याउन मद्दत पुग्ने बताए ।
महोत्सवबाट भएको आम्दानीको केही प्रतिशत विगतमा पनि सामाजिक क्षेत्रमा लगानी गर्दै आएको र यसपटक पनि शवदाह बनाउने काममा सहयोग तथा बजार उज्यालो बनाउन सोलार बत्ती जडान एवं मर्मत सुधारमा खर्च गर्ने योजना बनाएको उनले बताए ।
यस्तै, महोत्सवका प्रवक्ता हरिबहादुर थापाले विगतका वर्षमा खैरेनीटार महोत्सव मात्रै भनिएकोमा यसपटक शुक्लागण्डकी पनि थपिएको बताउदै उनले नगर स्तरीय महोत्सव भएकोले शुकलागण्डकी थपिएको हो प्रष्ट पारेका थिए ।
महोत्सवमा साँस्कृतिक झाँकी प्रदर्शनी, धार्मिक एवं ऐतिहासिक स्थल अवलोकन, गुफा अवलोकन, दगाम भुजिकोट डाँडाको अवलोकन, प्रदेश तारा गायन प्रतियोगिता, वैदेशिक रोजगरा सम्बन्धी सूचना मूलक कार्यक्रम, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी एवं खरिद बिक्री, विविध साँस्कृतिक कार्यक्रम, खुल्ला भलिबल प्रतियोगिता, छेलो तथा तानडोरी प्रतियोगिता, व्याडमिन्टन प्रतियोगिता लगायतका कार्यक्रमहरु सञ्चालन हुने प्रवक्ता थापाले जानकारी गराए ।
त्यस्तै, वैशाख ५ गतेसम्म सञ्चालन हुने महोत्सव स्थलमा करिब २२५ वटा व्यवसायिक स्टलहरु राखिने भएको छ भने करिब २ लाख आन्तरिक तथा वाह्या पर्यटकले महोत्सवको अवलोकन गर्ने आयोजकले जनाएको छ । महोत्सवबाट करिब ४ लाख ६० हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको आयोजकले आम्दानीको ४० प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गर्ने जनाएको छ । यस्तै, महोत्सवमा कृषिलाई प्राथमिकतामा राख्दै स्थानीय ब्यापारीलाई ३० प्रतिशत छुटमा स्टल दिने भएको छ ।










