शुक्लागण्डकी जेसीजद्वारा २५ थान अक्सिजन सिलिन्डर सहयोग
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

शुक्लागण्डकी जेसीजले जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र झरौटालाई २५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । जेसीजका बर्ष २०२१ का अध्यक्ष कृष्णबहादुर श्रेष्ठले अस्पतालका कार्यकारी प्रमुख डा. रामकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा अस्पतालका कार्यकारी प्रमुख डा. श्रेष्ठले अहिले आफुहरु निकै कठिन अवस्थासंग जुधिरहेको बताए ।
उनले कोरोनाको दोस्रो लहर सोचेभन्दा धेरै भयावह भएकाले उपलब्ध श्रोत र साधनको उपयोग गरी कोरोनासंग लडिरहेको भन्दै अस्पताललाई अक्सिजनको निकै खाँचो भएको बेलामा जेसीजले अक्सिजन भरेर ठुलो सहयोग गरेकोमा आभार व्यक्त गरे । उनका अनुसार हाल अस्पतालमा दैनिक १८ देखि २० वटा ठुलो अक्सिजन सिलिण्डर खपत हुँदै आएको छ ।
उनले भने ‘दैनिक १८ देखि २० वटासम्म अक्सिजन सिलिण्डर खपत हुन्छ, हामी दैनिक सिलिण्डर भर्न जानुपर्छ, यो महत्वपूर्ण समयमा अक्सिजन सिलिण्डर भरेर ठुलो कार्य र सहयोग गरिदिनुभएको छ, जेसीज परिवारप्रति आभारी छौं ।’ अस्पतालको आइसोलेसनमा अहिले अक्सिजन दिनुपर्ने २४ जना कोरोनाका विरामीहरु रहेको श्रेष्ठले जानकारी दिए ।
अस्पतालमा दिनानुदिन कोरोना संक्रमणका विरामीहरु थपिरहेको र अक्सिजन प्लान्ट नहुँदा विरामीको उपचारमा अक्सिजनको अभाव देखिएकाले जेसीजको तर्फबाट अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा जेसीजका पूर्वअध्यक्ष सुजन श्रेष्ठ, प्रकरण निर्देशक शिव रेग्मी र सचिव अनिष ढकाल लगायतले कोभिड संक्रमण जोखिमबाट बच्नका लागि सबै जिम्मेवार भएर स्वास्थ्य सुरक्षा पालना गर्नुपर्ने र संक्रमितको उपचारमा सबैले आ-आफ्नो ठाउँबाट हातेमालो गर्नुपर्ने बताएका थिए ।










