स्रोत परिचालन तथा वित्त व्यवस्थापन सुधार कार्यक्रम : तनहुँको व्यास उत्कृष्ट १० पालिका भित्र चयन

दमौली : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाडौंले सञ्चालनमा ल्याएको स्रोत परिचालन तथा वित्त व्यवस्थापन सुधार कार्यक्रममा तनहुँको व्यास नगरपालिका देशभरबाट छनोट गरिएका १० उत्कृष्ट पालिकामध्ये एक बन्न सफल भएको छ ।
नेपाल सरकार र एसियाली विकास बैंक बीच भएको “सार्वजनिक वित्तीय व्यवस्थापन सुदृढीकरण तथा सेवा प्रवाह विकास कार्यक्रम” अन्तर्गत सञ्चालित यस कार्यक्रमले संघीय र प्रदेश तहका विभिन्न सुधारात्मक क्रियाकलापलाई स्थानीय तहसम्म विस्तार गर्दैछ । उक्त कार्यक्रमले सार्वजनिक वित्तीय प्रणालीमा पारदर्शिता, उत्तरदायित्व र सेवा प्रवाहमा गुणस्तर सुधार ल्याउने लक्ष्य राखेको छ ।
व्यास नगरपालिकामा कार्यक्रम सञ्चालनका लागि छनोट भएसँगै नगरभित्र स्रोत परिचालन, बजेट निर्माण, खर्च संरचना तथा सार्वजनिक सम्पत्तिको व्यवस्थापन प्रणालीमा महत्वपूर्ण सुधार गरिने भएको छ ।
महालेखा नियन्त्रक कार्यालयले विकास गरेको सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली यसै नगरपालिकामा लागू गरिनेछ । त्यसैगरी लैङ्गिक तथा जलवायु मैत्री दृष्टिकोणमा आधारित मध्यकालीन खर्च संरचना तयार गरी आगामी आर्थिक वर्ष २०८२/८३ देखि बजेट निर्माण प्रक्रियामा समावेश गरिने व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी गराए ।
महिला, सीमान्तकृत समुदाय तथा विपन्न वर्गलाई लक्षित गर्दै कार्यक्रम तथा बजेट विनियोजन गरिनेछ भने नगरपालिकाले आफ्ना सार्वजनिक लगानी कार्यक्रमहरूका लागि स्पष्ट मापदण्डसहितको निर्देशिका पनि तयार पर्ने प्रमुख न्यौपानेले बताए । साथै, नगर क्षेत्रभित्र रहेका सम्भावित प्राकृतिक स्रोतहरूको नक्साङ्कन गरी तिनको प्रभावकारी परिचालनबाट स्थानीय राजस्व सुदृढ गर्ने कार्यलाई पनि प्राथमिकता दिइने भएको छ ।
यस कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न एसियाली विकास बैंकले खटाएका विज्ञ परामर्शदाता रचना श्रेष्ठ, कृष्ण पाठक र रुपक शर्मा सोमबार व्यास नगरपालिकामा आइपुगेका थिए । उनीहरूले नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा सम्बन्धित शाखाका प्रतिनिधिहरूसँग कार्यक्रम कार्यान्वयनका दिशा, रणनीति र अपेक्षित परिणामबारे विस्तृत छलफल गरेका थिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले यो कार्यक्रम व्यास नगरपालिकाका लागि संस्थागत सुधारको ऐतिहासिक अवसर भएको बताएका छन् । संघीय सरकारको सहयोग, बैंकको प्राविधिक समर्थन र स्थानीय तहको प्रतिबद्धता सँगसँगै गएमा यसले नगर प्रशासनको पारदर्शिता, आर्थिक अनुशासन र जनउत्तरदायित्वमा दीर्घकालीन परिवर्तन ल्याउने उनले विश्वास व्यक्त गरे ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker