भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न तत्पर छौ : मुख्यमन्त्री पोखरेल
भञ्ज्याङ समाचारदाता/दमौली

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको बताएका छन् ।
तनहुँमा आइतबार अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा सात जिल्लाको सुरक्षाको अवस्था, सबल पक्ष र चुनौतीबारे प्रमुख जिल्ला अधिकारीहरुको प्रस्तुति सुनेपछि मुख्यमन्त्री पोखरेलले जिल्लाको सुरक्षा अवस्था मजबुद बनाउन निर्देशन दिए ।
निर्वाचन आयोग र संघ सरकारले निर्वाचनका लागि विशेष योजना बनाउने भए पनि यसमा प्रदेश सरकार समन्वय गरेर अगाडि बढ्ने उनको भनाइ थियो ।
संघीयतालाई थप मजबुत बनाउन र नागरिकलाई अनुभूति गराउन कर्मचारी र सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने मुख्यमन्त्री पोखरेलले बताए ।
कोरोना महामारी नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले गरेको कामको प्रशंसा गर्दै उहाँले तीन तहको सरकारको समन्वयकारी भूमिकाका कारण ठूलो विपत्तिबाट पार पाउन सकिएको उलेख गरे ।
प्रदेश आन्तरिक मामिलामन्त्री डोबाटे विकले जिल्लाको सुरक्षा अवस्था, अन्तर जिल्ला समन्वय, प्रदेश सरकारसँगको अपेक्षा, पालिकासँगको समन्वयका बारेमा जानकारी लिन बैठक राखिएको बताए ।
कार्यक्रममा सातवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले जिल्लाको शान्ति सुरक्षा र चुनौती अनि समस्याका बारेमा प्रस्तुति राखेको थिए ।
मनाङका रवीन्द्र आचार्य, स्याङ्जाका राजुप्रसाद पौडेल, नवलपुरका शेखर घिमिरे, तनहुँका विश्वप्रकाश अर्याल, कास्कीका जयनारायण आचार्य, लमजुङका सुमन वैद्य र गोरखाका शंकरहरि अधिकारीको प्रस्तुतिमा उठेका विषयवस्तुमाथि छलफल गरिएको थियो ।
कार्यक्रममा नेपाली सेनाको ३ नम्बर बाहिनी खैरेनीटारका प्रमुख सहायक रथी प्रेम पुन, नेपाल प्रहरीको गण्डकी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक दिवेश लोहनी, अनुसन्धान कार्यालयका प्रदेश प्रमुख अनुसन्धान निर्देशक कुलदेव थापा, सशस्त्र प्रहरी मुक्तिनाथ वाहिनीका प्रमुख प्रहरी नायब महानिरीक्षक शम्भु रेग्मी, आन्तरिक मामिला मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, उपसचिव यामप्रसाद पौडेल लगायतले सुरक्षा अवस्थाबारे सहजिकरण गरेका थिए ।
प्रदेशका बाँकी मुस्ताङ, म्याग्दी, पर्वत र बागलुङको बैठक बागलुङमा हुने बताइएको छ ।










