तनहुँका अधिकारीले सात वर्षमा नेपालका ७७ वटै जिल्ला सदरमुकामको भ्रमण गरे
भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिका-१३ तीनघरे जन्मथलो भई हाल अमेरिका बस्दै आएका राजु अधिकारीले सातवर्षमा नेपालका ७७ वटै जिल्लाका सदरमुकामको भ्रमण पुरा गरेका छन् ।
भानु-१३ मिर्लुङ ठूलोढुंगा स्थित अरनिको माध्यमिक विद्यालयका पूर्व शिक्षक समेत रहेको अधिकारी बिगत १७ वर्षदेखि अमेरिकाको मिचिगन राज्यमा बसोबास गर्दै आएका छन् ।
नेपाललाई विश्वमाझ चिनाउने सोच सहित नेपालको सबै जिल्लाको सदरमुकाम पुग्ने अभियान सुरु गरेका अधिकारीले २०७९ कात्तिक २ गते हुम्लाको सदरमुकाम सिमीकोट पुगेर आफ्नो लक्ष्य पुरा गरेको बताएका छन् ।
वि.सं. २०७२ असरामा तनहुँको सदरमुकाम दमौली स्थित मानुङकोटको भ्रमण गरी अधिकारीले अभियान सुरु गरेका थिए । मानुङकोटबाट दमौली हुँदै कास्कीको पोखरा, गोरखा हुँदै यात्रा सुरु भएको उनले बताए ।
उनले भने, ‘धार्मिक, साँस्कृतिक, प्राकृतिक, ऐतिहासिक, साहित्यिक तथा साहसिक पर्यटनका लागि आकर्षक गन्तव्य रहेको नेपाललाई कसरी हुन्छ विश्वमाझ चिनाउँछु भन्ने लक्ष्य राखेर यो अभियान सुरु गरेको थिए, लक्ष्य अनुसार अभियान पुरा भएको छ ।’
संखुवासभाको खाँदवारी, डोल्पाको दुनै हुँदै कात्तिक २ गते हुम्लाको सदरमुकाम सिमीकोट पुगेर आफ्नो अभियान पुरा गरेका अधिकारीले बताएका छन् ।
अमेरिकाको चर्चित कम्पनी ‘डनकिन’ को सञ्चालक समेत रहेका अधिकारीले नेपाली तथा अन्यलाई रोजगारी दिएका छन् । अधिकारी अहिले मार्दी हिमाल ट्रेकमा छन् ।









