नारायणगढ–मुग्लिन सडक : फागुन १२ सम्म लम्बियो सडक बन्दको समय

चितवन : पुल निर्माणका लागि नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने समय फागुन १२ सम्मलाई लम्बिएको छ । मुग्लिन नजिक तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न पुस ७ गतेदेखि सो सडक मध्यान्ह १२ बजेदेखि दिउँसो चार बजेसम्म बन्द हुँदै आएको छ ।
सुरुमा पुस २८ सम्मका लागि भनेर पहाड काट्न बाटो बन्द भएको थियो । यो समयमा काम नसकिएपछि माघ २० सम्मलाई समय थपिएको थियो । तर यतिका दिनसम्म पनि काम सम्पन्न नभएपछि फेरि म्याद थप गरिएको हो ।
‘अब थप २१ दिनका लागि भनेर अन्तिम पटक म्याद थप भएको छ । यो बेलासम्म काम लगभग सकिएला,’ नागढुंगा मुग्लिन सडक योजना पश्चिम खण्डका सुचना अधिकारी रहेका इन्जिनियर कृष्ण आचार्यले भने ।
पुल बनाउनका लागि यो ठाउँमा पहाड काट्न गत वर्ष पनि पुस ५ देखि फागुन २० सम्म दैनिक चार घण्टा बाटो बन्द गरिएको थियो । कडा चट्टान परेका कारण विष्फोटक प्रयोग गर्ने भनेर काम स्थगित भएको थियो ।
यो वर्ष पनि दैनिक चार घण्टा बाटो बन्द गरेर विष्फोटकले नभई मेसिन उपकरणहरु नै प्रयोग गरेर पहाड काट्न सुरु भएको हो । यो पटक प्रयोग भएका औजार उपकरणहरु गत वर्षका भन्दा बढी क्षमताका भएको इन्जिनियर आचार्यले बताए ।
‘यो वर्ष काम सुरु गर्दा काट्नु पर्ने पहाड ३५ मिटर जति अग्लो थियो । अब १२/१३ मिटर मात्रै बाँकी भएका कारण विष्फोटक प्रयोग गर्न नपर्ला,’ इन्जिनियर आचार्यले भने ।
नारायणगढ–मुग्लिन सडक देशको व्यस्त राजमार्ग हो । यो राजमार्ग हुँदै दिनहुँ १० हजारभन्दा बढी साना ठुला गाडी ओहर दोहर गर्छन् । राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पुर्वी र पश्चिम भेगसँग जोड्ने यो मार्गमा कहिले सडक विस्तार हुँदा लामो अवरोध सहनु परेको छ भने बर्खायाममा पहिरोले पनि निकै सताउँछ ।
पुल निर्माणकै लागि भनेर गत वर्षदेखि फेरि पटक–पटक सडक बन्द हुँदै आएको छ ।










