कोरोना माहमारीबीच स्याङ्जामा कोदो खेतीमा वृद्धि

हिमलाल पराजुली

कोभिड–१९ ले धेरै कुरालाई प्रभावित पारेको भए पनि कृषि क्षेत्रमा भने यसको सकरात्मक प्रभाव पारेको छ । कोरोना सङ्क्रमणका कारण धेरैको रोजगारी गुम्नाका साथै आर्थिक अवस्था खस्कँदो अवस्थामा भए पनि कृषि क्षेत्रमा भने यसको सकरात्मक प्रभाव बढ्दै गएको छ । जिल्लामा कोरोना सङ्क्रमणका कारण वैदेशिक रोजगारीमा गएका गाउँघरमा फर्किनाका साथै लकडाउनका कारण व्यापार व्यवसाय बन्द भएपछि फुर्सदको समयलाई गाउँघरमा बाँझो रहेको जमिनमा खेतीपाती गरेर सदुपयोग गर्दा उत्पादनमा वृद्धि हुँदै जान थालेको छ ।

किसानका लागि बढी मेहनत लाग्ने कोदो खेतीमा यस वर्ष वृद्धि भएको छ । मेहनत बढी लाग्ने र उत्पादन कम हुने भन्दै विस्तारै कम हुँदै गएको कोदो खेतीको यस वर्ष वृद्धि भएको हो । स्वास्थ्यका लागि निकै राम्रो र पोसिलो मानिएको कोदो लगाउनका लागि बढी मेहनत गर्नुपर्ने तथा उत्पादन सोचे जति राम्रो नहुने भन्दै केही वर्षदेखि कम मात्रामा लगाउने गरिएको थियो ।

किसानले यस वर्ष भने कोरोना सङ्क्रमणका कारण बाहिर काममा भएका परिवारका सदस्यसमेत खेतीबाली लगाउने समयमा घरमै हुँदा काम गर्ने जनशक्ति प्रसस्त भएकाले गाउँघरमा त्यसै बाँझो रहेको बारीमा समेत कोदो खेती गरेकाले यो खेती विस्तार गरिएको हो । कोदो खेतीका लागि मेहनत बढी लाग्ने भए पनि स्वास्थ्यवद्र्धक खाद्य बालीका रुपमा रहेको कोदो खेतीमा वृद्धि भएको कृषि ज्ञानकेन्द्रका प्रमुख विनोद हमालले बताउनुभयो ।

किसानले यस वर्ष १६ हजार ५०० हेक्टर क्षेत्रफलमा कोदो खेती गरेको उहाँले जानकारी दिनुभयो । अन्य खेती बालीलाई बाँदरले बढी खाएर क्षति पु¥याउने भए पनि कोदो खेतीमा बाँदरले समेत कम क्षति पु¥याउने भएकाले गत वर्षको तुलनामा यस वर्ष किसानले धेरै जमिनमा कोदो लगाएको बताउनुभयो ।

हमालले भन्नुभयो, “मकै, गहुँलगायतका बालीमा बाँदरका साथै जङ्गली जनावरले बढी क्षति पु¥याउने भएकाले यो खेतीमा बाँदरले पनि त्यति धेरै क्षति पु¥याउँदैन, कोदो खेतीमा वृद्धि भएको छ, यो खेती बढ्नुमा कोरोना सङ्क्रमणका कारण जनशक्तिको समेत अभाव नभएकाले परिवारका सदस्य जम्मा भएको समयलाई समेत किसानले सदुपयोग गरेको देखिन्छ ।” गत वर्षको तुलनामा यस वर्ष जिल्लामा उत्पादन वृद्धि हुनेसमेत उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७७÷०७८ मा १६ हजार ४०७ हेक्टर जमिनमा कोदो खेती गरिएकामा आव २०७८÷०७९ मा १६ हजार ५०० हेक्टर जमिनमा कोदो खेती लगाइएको छ । गत वर्ष १८ हजार ४७ मेट्रिक टन उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष कोदोको उत्पादन वृद्धि हुने अनुमान ज्ञान केन्द्रको छ ।

यस वर्ष १८ हजार १५० मेट्रिक टन कोदो फल्ने अनुमान रहेको प्रमुख हमालले बताउनुभयो । गत वर्ष रैथाने बाली उत्पादन प्रोत्साहन कार्यक्रमअन्तर्गत कोदोको बीउ, सिँचाइ, व्यवस्थापनलगायतमा किसानलाई सहयोग गरेको र यस वर्ष पनि बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गरिने कार्यक्रम रहेको ज्ञान केन्द्रले जनाएको छ ।

जाडो मौसममा कोदोको रोटी, ढिडोलगायतका परिकार खाँदा राम्रो हुने भएकाले कोदो खेतीको विस्तार गर्नुपर्ने चापाकोट नगरपालिका–१० की सावित्रा भट्टराईले बताउनुभयो । गाउँघरमा कोदोको परिकारमा त्यति धेरै चासो नदिए पनि सहर बजारमा भने यसको माग बढ्न थालेको पाइन्छ । पर्यटकीय गाउँहरुमा त कोदोको परिकारले पर्यटकको स्वागत गर्ने क्रम बढ्दै गएको पाइन्छ । गाउँ घुम्न आउने पर्यटकलाई स्थानीय उत्पादन कोदोको परिकारले स्वागत गर्ने गरेको कालीगण्डकी गाउँपालिका–६ मा रहेको प्रगति मैदान चोहानथोक होमस्टेका सल्लाहकार हीराबहादुर गाहाले बताउनुभयो ।

अन्य बालीको समस्या लिएर किसान ज्ञानकेन्द्रमा पुग्ने गरे पनि कोदो बालीमा कुनै समस्या तथा गुनासो नआउने गरेको केन्द्रको भनाइ छ । पछिल्लो समय बजारीकरणले गर्दा गाँउघरका कोदो खेती हुने बारी बाँझै हुन थालेका छन् । अन्य बालीको तुलनामा कोदोलाई धेरै मेहेनत चाहिने, आवश्यक जनशक्ति पनि नपाउने कारण अन्य बालीको तुलनामा कोदो खेती भने कम नै हुने गरेको छ ।

स्वास्थ्यका दृष्टिकोणले कोदोको परिकार लाभदायी हुने भए पनि गाउँघरमा यसको प्रयोग कम हुँदै गएको र बरु सहर बजारका होटल, रेष्टुराँमा कोदोको परिकार पाक्ने गरेको तथा बजार क्षेत्रमा कोदोको परिकारको उपयोग बढेको पाइन्छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker