भिमादस्थित जनज्योति क्याम्पसको वार्षिक प्रतिवेदनमाथि समीक्षा

भिमाद : तनहुँको भिमाद नगरपालिकास्थित जनज्योति क्याम्पसको वार्षिक प्रतिवेदन २०८२ माथि छलफल तथा समीक्षा गर्दै आगामी योजनाका विषयमा वृहत् सुझाव संकलन गरिएको छ ।
जनज्योति क्याम्पस अनुगमन तथा मूल्याङ्कन समितिको आयोजनामा आइतबार सम्पन्न संयुक्त बैठकमा क्याम्पस सञ्चालक समिति, विभिन्न उपसमिति, प्राध्यापक–कर्मचारी, विद्यार्थी प्रतिनिधि तथा सरोकारवालाबीच क्याम्पसको वर्तमान अवस्था, उपलब्धि, चुनौती र भावी योजनाका विषयमा छलफल गरिएको हो ।
अनुगमन तथा मूल्याङ्कन समिति संयोजक एवं भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष जीतप्रकाश आले, उपाध्यक्ष उमाकान्त श्रेष्ठ, सञ्चालक समिति सदस्यहरू इन्दिरा खड्का, चुडामणि खनाल, अरविन्द श्रेष्ठ, कृष्णकला सुवेदी र नरेन्द्र थापालगायतको सहभागिता थियो ।
कार्यक्रममा अनुगमन तथा मूल्याङ्कन समिति सदस्यहरू खिमाकान्त पराजुली, गोपालप्रसाद सुवेदी र हरिशचन्द्र गैरे, आमन्त्रित सदस्य क्या. खड्कबहादुर थापा, सामाजिक परीक्षण समिति संयोजक चन्द्रप्रकाश सुवेदी, क्याम्पस प्रमुख केशवराज काफ्ले, सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाईं, विभिन्न प्राज्ञिक समितिका प्रमुख तथा प्रतिनिधि, स्वतन्त्र विद्यार्थी युनियन सभापति विप्लव भण्डारी, स्टेसन म्यानेजर अमृत परियारलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा क्याम्पसका विभिन्न एकाइका संयोजकहरूले आ–आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमाथि छलफल तथा समीक्षा गर्दै सम्बन्धित एकाइका उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाका विषयमा सहभागीहरूले सुझाव र धारणा राखेका थिए ।
बैठकमा क्याम्पसको आगामी योजनाअन्तर्गत स्नातकोत्तर तह सञ्चालन, छात्रावास निर्माण, क्याम्पसको दिगो विकास, शैक्षिक गुणस्तर अभिवृद्धि तथा संस्थागत क्षमता विकासका विषयमा समेत विस्तृत छलफल गरिएको थियो। क्याम्पसको आर्थिक तथा शैक्षिक विकासलाई दीगो बनाउन आवश्यक स्रोत व्यवस्थापन, पूर्वाधार विकास र शैक्षिक वातावरण सुधारका विषयमा सहभागीले सुझाव दिएका थिए ।
कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष आले, उपाध्यक्ष श्रेष्ठ, क्याम्पस प्रमुख काफ्ले तथा अनुगमन तथा मूल्याङ्कन समिति सदस्य खिमाकान्त पराजुलीले क्याम्पसको वर्तमान अवस्था, उपलब्धि, चुनौती र भावी योजनाका विषयमा धारणा राखेका थिए। वक्ताहरूले क्याम्पसको गुणस्तरीय शैक्षिक विकासका लागि सबै सरोकार पक्षबीच सहकार्य, समन्वय र साझा प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका थिए ।
अनुगमन तथा मूल्याङ्कन समिति संयोजक एवं भिमाद नगरपालिकाका प्रमुख सुवेदीले स्थानीय राजनीतिक दल तथा सम्बद्ध सबै पक्षसँग समन्वय र सहमतिका आधारमा क्याम्पसको दिगो विकासका लागि आवश्यक महत्वपूर्ण निर्णय गर्न नगरपालिका तयार रहेको बताए ।
कार्यक्रमले वार्षिक प्रतिवेदनको समीक्षा गर्नुका साथै क्याम्पसको आगामी योजना निर्माण, शैक्षिक गुणस्तर अभिवृद्धि र दिगो आर्थिक विकासका लागि आवश्यक सुझाव तथा मार्गदर्शन प्राप्त गर्ने आधार तयार गरेको आयोजकले जनाएको छ ।










