तनहुँमा रक्तसञ्चार केन्द्र सञ्चालनका लागि २९ लाख रुपैयाँ संकलन, सहयोगिलाई सम्मान

दमौली : तनहुँमा रक्तसञ्चार केन्द्र सञ्चालनका लागि २९ लाख रुपैयाँ संकलन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले रक्तसञ्चार केन्द्रको दिगो सञ्चालनका लागि जिल्लाका पालिकाहरुबाट उक्त रकम संकलन गरेको हो ।
दमौलीस्थित दमौली अस्पताल परिसरमा स्थापना गरिएको रक्तसञ्चार केन्द्रलाई दिगो बनाउन थालिएको अभियान अन्तर्गत हालसम्म २९ लाख रुपैयाँ सकलन भएको रेडक्रस तनहुँले जनाएको छ ।
रक्तसञ्चार केन्द्र सञ्चालनमा सहयोग गर्ने जिल्लाका पालिकालाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी रेडक्रसले तनहुँले सम्मान गरेको छ ।
केन्द्रलाई दिगो रुपमा सञ्चालन गर्नका लागि ५० लाख रुपैयाँको अक्षयकोष बनाउने अभियानमा सहयोग पु¥याए बापत व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, भानु नगरपालिकाका उपप्रमुख उमा गोतामेलाई जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र रेडक्रस सभापति प्रा.डा. कृष्णप्रसाद गौतमले सम्मान गरेका थिए ।
उक्त अवसरमा समन्वय समिति प्रमुख वाग्लेले मानवीय सेवामा रेडक्रसको योगदान सधैं उच्च रहँदै आएको बताए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रक्तसञ्चार केन्द्रलाई दिगो बनाउन आवश्यक रहेकामा जोड दिए ।
कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका पूर्व सभापति रघुनाथ पौडेल, सत्यवती माविका प्रधानाध्यापक पुष्पकला भट्टराई, रेडक्रसका मन्त्री सूर्यचन्द्र हड्खले लगायतले रेडक्रसले मानवीय क्षेत्रमा गरेका कार्यक्रम र रक्तसञ्चार केन्द्रको आवश्यकता र महत्वका विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
वि.सं. २०७२ मंसिर १२ गते रक्तसञ्चार सेवा केन्द्र स्थापना भएको थियो । हाल दमौली अस्पतालको सहयोगमा मेडिबैंक भएको अस्पतालको गेटमै रक्तसञ्चार केन्द्र सञ्चालनमा रहेको छ । रक्तसञ्चार केन्द्रलाई दिगो र सहज बनाउन ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने उद्देश्यबमोजिम सहयोग अभियान थालिएकामा विभिन्न पालिकाबाट सहयोग प्राप्त भइसकेको र केही पालिकाबाट सहयोगको प्रतिबद्धता आएको रेडक्रस शाखा सभापति प्रा डा गौतमले जानकारी दिए ।
प्रा डा गौतमका अनुसार २१ लाख ५० हजार रुपैयाँ खातामा जम्मा भइसकेको छ भने सात लाख ५० हजार रुपैयाँको प्रतिबद्धता प्राप्त भएको छ । उनका अनुसार व्यास नगरपालिकाबाट पाँच लाख रुपैयाँ, बन्दीपुर गाउँपालिकाबाट पाँच लाख रुपैयाँ, म्याग्दे गाउँपालिकाबाट पाँच लाख रुपैयाँ, भानु नगरपालिकाबाट चार लाख रुपैयाँ, भिमाद नगरपालिकाबाट दुई लाख रुपैयाँ, घिरिङ गाउँपालिकाबाट ५० हजार रुपैयाँ प्राप्त भइसकेको छ ।
यस्तै, शुक्लागण्डकी नगरपालिकाबाट तीन लाख रुपैयाँ, देवघाट गाउँपालिकाबाट दुई लाख ५० हजार रुपैयाँ र ऋषिङ गाउँपालिकाबाट दुई लाख रुपैयाँको प्रतिबद्धता व्यक्त गरिएको सभापति गौतमले जानकारी गराए ।
रक्तसञ्चार केन्द्र सञ्चालनका लागि अक्षयकोष बनाउने र सोही अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट केन्द्र सञ्चालनमा सहजता ल्याउन खोजिएको प्रा डा गौतमको भनाइ छ । उनले भने, “विसं २०७९ चैत १४ गते समन्वय समितिका प्रमुखको संयोजकत्वमा बसेको बैठकले रक्तसञ्चार केन्द्र सञ्चालनका लागि अक्षयकोष बनाउने र सो अक्षयकोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरिएको थियो ।”
सोबमोजिम रेडक्रस सोसाइटीले जिल्लाका सबै पालिकालाई आग्रह गरेबमोजिम नौवटा स्थानीय तहबाट सहयोग भएको प्रा डा गौतमले बताए । रक्तसञ्चार केन्द्र नियमितरुपमा सञ्चालन, रेखदेख तथा अनुगमनका लागि गौतमको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको छ ।
दमौली अस्पतालमा मिर्गौला डायलासिसका बिरामी, सुत्केरी महिला र अन्य घाइतेलाई रगतको माग हुँदा पूर्ति गर्ने उद्देश्यले रक्तसञ्चार केन्द्र स्थापना गरिएको हो ।










