शुक्लागण्डकी र भिमाद जोड्ने पक्की पुल पुलको शिलान्यास
पुल सबैको साझा भएकाले समयमै गुणस्तरीय पुल निर्माणका लागि आ-आफ्नो ठाउँबाट पहल गरौं : मन्त्री गुरुङ
- राजकुमार आले (दुलेगौंडा)
दुइ स्थानीय तहलाई जोड्ने गरी बरखोलामा मोटरेवल पुल बन्ने भएको छ । गण्डकी प्रदेशको लगानीमा तनहुँको शुक्लागण्डकी-११ जरेबर र भिमादको वडा नं. ९ थामडाँडालाई जोड्ने गरी पुल निर्माण गर्न लागिएको हो ।
पक्की पुल नहुँदा स्थानीयवासीले बर्खाको समयमा उर्लिएर आउने बरखोला जोखिम मोलेरै वारपार गर्नुपर्ने बाध्य थियो । स्थानीयवासीको यही समस्यालाई सहज बनाउन बुधबार एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पुलको शिलान्यास गरेका छन् ।
पुलको शिलान्यास गर्दै मन्त्री गुरुङले पुल सबैको साझा सम्पत्ति भएकाले समयमै सक्न र पुलको गुणस्तरीयतामा ध्यान दिन आग्रह गरे । उनले निर्माण पक्ष र पूर्वाधार विकास कार्यालयबीच भएको सम्झौता अनुसार कत्तिपनि तलमाथि नहुने गरी काम सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताए ।

‘सबैको सक्रिय सहभागितामा अबको केही महिनापछि नै स्थानीयहरुले पुलको सेवा उपभोग गर्न पाउने छन्’, मन्त्री गुरुङले भने, ‘धेरै ठाँउमा पुल, कुलकुलेसा, तटबन्ध निर्माण गर्न आवश्यक छ, त्यसको पनि हामीले अध्ययन गरिहेका छौँ, आगामी दिनहरुमा बाँकी कामलाई पनि क्रमैसंग अगाडी बढाउनेछौ ।’
त्यस्तै प्रदेश साँसद तथा पुर्वमन्त्री आशा कोइरालाले बर्खामा बाँसको पुल बनाएर हिड्नुपर्ने स्थानीयको बाध्यता अब हट्ने बताइन् । उनले पहिलेको त्यो दर्दनाक अवस्थाबाट स्थानीयवासीले पार पाउने उल्लेख गर्दै क्याङदी खोला र सेतीमा यसबर्ष मात्रै ६ वटा पुलको योजना अगाडी बढेको जानकारी दिइन् । साँसद कोइरालाले उक्त योजनाहरु समयमै सम्पन्न गर्नका लागि स्थानीय उपझोक्ताले नै विशेष चासो दिनु पर्नेमा जोड दिइन् ।
‘कुनै निर्माणधिन अवस्थामा छ, कुनै निर्माण र शिलान्यासको चरणमा छन्’, उनले भनिन्, ‘ती निर्माणको कामहरुलाई समयमै सक्ने र गुणस्तरीयताबारे ध्यान दिएनौ भने सम्झौता अनुसार काम हुन सक्दैन, त्यसैले प्रत्यक्ष उपभोक्ताहरुले चासो लिएर विकास निर्माणको काममा ध्यान दिनुपर्दछ ।’
कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख किसान गुरुङले निर्माण कम्पनीलाई गर्नुपर्ने सबैखाले सहयोग गर्न तयार रहेको बताउँदै गुणस्तरीयतामा ध्यानदिन आग्रह गरे । यस्तै, भिमाद नगरपालिकाका नगरप्रमुख मेखबहादुर थापाले पुल बनेपछि दुइ स्थानीय तहका स्थानीयवासीबीचको सम्बन्ध अझ प्रगाढ बन्ने विश्वास व्यक्त गरे । उनले पुलको गुणस्तरीयताका लागि स्थानीय उपभोक्ता पनि चनाखो भई के कसरी निर्माण कार्य भइरहेको छ भन्ने विषयमा चनाखो भई अनुगमन गर्न आग्रह गरे ।’ उक्त मोटरेवल पुल निर्माणको लागि भौतिक पुर्वाधार विकास मन्त्रालय गण्डकीले ३ करोड ९८ लाख ६३ हजार २७७ रुपैया विनियोजन गरेकोमा मुक्तिनाथ दिपज्योति जेभी पोखराले ३ करोड ३६ लाख ७५ हजार ६३६ रुपैयाँमा पुल निर्माणको जिम्मा लिएको छ । ३२.४ मिटर लम्बाइ र चौडाइ ८.४ को हुन पुल सम्झौता अनुसार आगामी असार २२ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।










