छ महिनाभित्र बियरको खाली बोत्तलहरु हटाउन दोर्दीको निर्देशन, नहटाए बिक्री वितरणमा रोक लगाउने
भञ्ज्याङ न्यूज

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाभित्रका होटल तथा रेष्टुरेन्टमा रहेक वियर लगायत शिसाका खाली बोत्तलहरु आगामी छ महिनाभित्रमा हटाउन गाउँपालिकाले निर्देशन दिएको छ ।
व्यवसायीहरुले ती खाली बोत्तल नहटाएमा बियर विक्री वितरण गर्न रोक लगाउने गाउँपालिकाले निर्णय गरेको छ । दोर्दी गाउँपालिका वडा नं. ४ नौथर सेरामा बसेको गाउँपालिकाको आठौं गाउँपालिका बैठकले उक्त निर्णय गरेको हो ।
गाउँपालिकाभित्रका विभिन्न होटल तथा रेष्टुरेण्टमा विभिन्न कम्पनीहरुका बियर लगायत अन्य सिसाका बोत्तलमा ल्याइएका पिय पदार्थहरुको बोत्तलले गाउँपालिकाका बजार कुरुप बन्दै गएकाले ६ महिनाभित्रमा हर्टाई सक्नुपर्ने वा फिर्ता लैजाउनु पर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए ।
उनले भने, ‘विभिन्न प्रकारका बोत्तलहरु सो समयभित्रमा नलगेमा सम्बन्धित होटल तथा रेष्टुरेण्टमा पूर्ण रुपमा बियर तथा सो बस्तुहरु विक्री वितरणमा प्रतिबन्द गरिनेछ ।’
त्यस्तै, बैठकले गाउँपालिकाको गाउँसभा आगामी पुस २८ र २९ गते गर्ने निर्णय गरेको छ । लिपे मेमेपोखरी पदमार्ग निर्माण गर्न, फोहोर व्यवस्थापन तथा कम्पोष्ट मल बनाउने स्थल निर्माण, गाउँपालिका स्तरीय १५ श्ययाको अस्पताल भवन निर्माण गर्न आवश्यक जग्गा उपलब्ध गराउन राष्ट्रिय योजना आयोगमा पेश गर्ने निर्णय बैठकले गरेको गाउँपालिकाले जनाएको छ ।
बैठकले मौरी पकेट क्षेत्रका लागि वडा नं. ९ हिले टक्सार र लघु उद्यम विकास कार्यक्रमको लागि वडा नं. ८ बन्सारलाई छनोट गर्ने निर्णय गरेको छ ।
त्यस्तै, गाउँपालिकाभित्र सञ्चालित विभिन्न सहकारीहरु पालिकामा दर्ता गराउने, गाउँपालिकामा मालि राख्ने, दीर्घ रोगीहरुलाई आर्थिक सहयोग गर्ने, जग्गा बर्गीकरण गर्ने, पालिकाले प्रशासकीय भवन निर्माणको लागि जग्गा व्यवस्थापन गर्ने लगायत १८ वटा निर्णयहरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सम्शेर गुरुङले बताए ।










