बन्दिपुरका पर्यटकीय स्थलको प्रचारप्रसारका लागि विभिन्न सातवटा भाषामा क्यु आर कोर्ड तयार
भञ्ज्याङन्यूज

तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा रहेको पर्यटकीय गन्तव्यको प्रचार प्रसारका लागि गाउँपालिकाले विभिन्न सातवटा भाषामा क्यु आर कोर्ड तयार गरेको छ ।
गाउँपालिकाले १७ वटा पर्यटकीय गन्तव्यको सूचना नेपाली सहित विभिन्न ७ भाषामा तयार गरेको हो । ती पर्यटकीय गन्तब्यको विषयमा अब गाउँपालिकाका विभिन्न स्थानमा क्यु आर कोर्ड स्क्यान गरी सजिलै पढ्न तथा सुन्न सकिने गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

उनले भने, ‘बन्दिपुर घुम्न आएका पर्यटकहरूलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गराउन तथा त्यहाँका विषयमा जानकारी गराउने उद्देश्यसहित क्युआर कोर्ड तयार गरिएको हो ।’
बन्दिपुर गाउँपालिका नेपाली, अंग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्च लगायतका भाषामा क्युआर कोर्ड तयार गरेको छ ।

बन्दिपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्म पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्क लगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक फरक भाषामा तयार गरिएको बताइएको छ ।










