भानु-५ मैबलस्थित सरस्वती सदनको स्वर्ण जयन्ती
भञ्ज्याङ समाचारदाता/दमौली

भानु नगरपालिका-५ मैबलको सरस्वती सदन माध्यमिक विद्यालयले स्थापनाको ५० वर्षको अवसरमा बिहीवार स्वर्ण जयन्ती मनाएको छ। वि.स. २०२८ सालमा स्थापना भएको विद्यालयले स्वर्ण जयन्तीको अवसरमा जग्गा दाता, विद्यालयमा स्थापना कालदेखी सेवा गर्ने शिक्षक शिक्षिका, आर्थिक तथा भौतिक सहयोगदाता लगाएत करिब ५ सय भन्दाबढी लाई सम्मान गरेको विद्यालयका प्रधानाध्यापक बाबुराम रानाभाटले जानकारी दिए । स्वर्ण जयन्ती सम्पन्न गर्न विभिन्न संघ संस्था र व्यक्तिहरुको आर्थिक तथा भौतिक सहयोग रहेको मूल आयोजक समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार शाहीले जानकारी दिए ।
गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले स्वर्ण जयन्तीका अवसरमा शिक्षालाई उत्पादनसंग जोड्नुपर्ने बताए । युवाहरु गाउँमा बसेर आर्थिक आर्जन तर्फ लाग्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ थियो । प्रदेश सरकारले प्राविधिक शिक्षालाई जोड दिएको मन्त्री श्रेष्ठले बताए । गण्डकी प्रदेश सरकार शिक्षालाई सर्वसुलभ बनाउन लागिपरेको मन्त्री श्रेष्ठले जानकारी दिए। यस्तै सोही समारोहमा राष्ट्रिय सभाकी सदस्य भगवती न्यौपानेले प्रविधिको युगमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताए । उनले आजको युग विज्ञान र प्रविधिको युग भएको बताइन् ।
मंसिर २९ गते समेत विभिन्न कार्यक्रमका साथ भानु नगरपालिकाका प्रमुख उदयराज गौली स्वर्ण जयन्तीको शुभारम्भ गर्दै नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेको बताए । सो समारोहमा विद्यालयका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुती देखाएका थिए । विद्यालयले स्वर्ण जयन्तीको अवसरमा स्मारिका समेत प्रकाशित गरेको छ ।










