तनहुँका तीन पालिकामा नेकपा एमालेको अग्रता, ७ वडामा विजयी
भञ्ज्याङ न्यूज

स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा मतगणना जारी छ । जिल्लाको व्यास नगरपालिका बाहेक अन्य नौ पालिकामा अहिले मतगणना भइरहेको छ । यो समाचार तयार पार्दसम्मको अवस्थामा तीन पालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।
एमालेले म्याग्दे गाउँपालिकाको अध्यक्ष, भिमाद नगर प्रमुख, उपप्रमुख, घिरिङ गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा अग्रता लिइरहेको छ ।
यस्तै, तनहुँका ८५ वडामध्ये हालसम्म १६ वटा वडाको नतिजा र्सार्वजनिक भइसकेको छ । सार्वजनिक नतिजामध्ये नेकपा एमाले ७ वडामा विजयी हुन सफल भएको छ ।
एमालेले जितेका वडाहरु
म्याग्दे-३ को वडाध्यक्षमा एमालेका अधिकारी विजयी
मतपरिणाम अनुसार म्याग्दे गाउँपालिका-३ को वडाध्यक्षमा नेकपा एमालेका टुकराज अधिकारी विजयी भएका छन् । ६६१ मत प्राप्त गरी अधिकारी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बलराम भट्टराइले ५८७ मत प्राप्त गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका लेखराज लामिछानेलाई ३८ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त वडामा एक हजार ३३० मत खसेको थियो ।
यसैगरी खुल्ला सदस्यमा नेपाली कांग्रेसका बालचन्द्र घिमिरेले ५८८, नेकपा एमालेका प्रकाश घिमिरेले ५७८, महिला सदस्यमा नेपाली कांग्रेसका जानकी थापा ५६३ र दलित महिला सदस्यमा नेकपा एमालेका सुनिता नेपाली ७१० मत प्राप्त गरी विजयी भएका छन् ।
बन्दिपुर-४ मा एमालेको प्यानल विजयी
बन्दिपुर गाउँपालिका-४ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेकपा एमालेका दानबहादुर थापा ७४० मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका सीता थापाले ४६४ मत प्राप्त गरेका थिए । सदस्यहरूमा नेकपा एमालेका रवि श्रेष्ठ ७०१, भिम घले ६४५, महिला सदस्यमा ममता राना ६७७ र दलित महिला सदस्यमा भगवती सुनारले ६७९ मत प्राप्त गरी विजयी भएका छन् ।
घिरिङ-२ मा एमालेको प्यानल विजयी
घिरिङ गाउँपालिका-२ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेकपा एमालेका नरबहादुर थापा एक हजार १७ मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका विष्णुवीर थापाले ५७ मत प्राप्त गरेका थिए ।
यस्तै, महिला सदस्यमा नेकपा एमालेकै सनम थापा एक हजार १२, दलित महिला सदस्यमा सुकमाया सुनार रामदामले ९६३, खुल्ला सदस्यमा आशबहादुर थापाले ९६० र धनबहादुर रानाले ९७१ मत प्राप्त गरी विजयी भएका छन् ।
म्याग्दे-१ मा एमालेका मणिभद्र विजयी
म्याग्दे गाउँपालिका-१ को वडाध्यक्षमा नेकपा एमालेका मणिभद्र वाग्ले विजयी भएका छन् । सार्वजनिक मतपरिणाम अनुसार वाग्ले ६९९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विनोद खनालले ५३६ मत प्राप्त गरे । स्वतन्त्र अध्यक्ष उम्मेदवार विष्णुबहादुर थापाले २८१ मत प्राप्त गरेका छन् ।
खुल्ला सदस्यमा नेपाली कांग्रेसका मीनबहादुर थापा ६३८, नेकपा एमालेका मिनबहादुर गुरुङ ६०८, महिला सदस्यमा नेकपा एमालेका राममाया खडुल मगर ७१४ र दलित महिला सदस्यमा नेकपा एमालेका केशरी सुनार ६९६ मत प्राप्त गरी विजयी भएका छन् ।
देवघाट-१ मा एमालेको प्यानल विजयी
देवघाट गाउँपालिका-१ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । सार्वजनिक मतपरिणाम अनुसार वडाध्यक्षमा मनिराज गुरुङ ८९८ मत प्राप्त गरी निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मुक्तिलाल थापा मगरले ६३४ मत प्राप्त गरेका छन् ।
खुल्ला सदस्यमा एमालेकै बेलबहादुर गुरुङले ८८१, सुन्दर भुजेलले ८६३, महिला सदस्यमा मनमाया गुरुङले ८८४ र दलित महिला सदस्यमा नानुमाया विकले ८९५ मत प्राप्त गरी विजयी भएका छन् ।
भिमाद-३ मा एमालेको प्यानल विजयी
भिमाद नगरपालिका-३ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । सार्वजनिक मतपरिणाम अनुसार एमालेका पदमबहादुर सेन ठकुरी ६३१ मत प्राप्त गरी विजय भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धनबहादुर थापाले ५०४ मत प्राप्त गरेका छन् ।
महिला वडा सदस्यमा एमालेका उमा कुमालले ५९३, दलित महिला सदस्यमा एमालेकै सुमित्रा विकले ५९०, खुल्ला सदस्यमा नारायण आलेले ५७७ र बसन्तसिंह ठकुरीले ५७१ मत प्राप्त गरी निर्वाचिन भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
भिमाद-२ मा एमालेको प्यानल विजयी
भिमाद नगरपालिका-२ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । सार्वजनिक मतपरिणाम अनुसार एमालेले प्यानलै जितेको हो । वडाध्यक्षमा एमालेका दिनेशकुमार थापाले एक हजार ५६१ मत प्राप्त गरी विजयी भएका छन । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भिमबहादुर थापाले ६५६ मत प्राप्त गरेका छन् ।
खुल्ला सदस्यमा मेखबहादुर थापाले एक हजार ३४१, प्रेम रानाले एक हजार ३९८, दलित महिला सदस्य सुष्मा नेपालीले एक हजार ४७१ र महिला सदस्य स्यानीमाया थापाले एक हजार ४७८ मत प्राप्त गरी विजयी भएका छन् ।










