बन्दीपुर सम्भावनाले भरिएको पर्यटकीय गन्तव्य : प्रदेश प्रमुख भट्ट

बन्दीपुर : गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बन्दीपुर गाउँपालिकाको भ्रमण गर्दै यस क्षेत्रको पर्यटन सम्भावनालाई उजागर गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन् ।
गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भट्टले बन्दीपुरलाई ‘पहाडकी रानी’का रूपमा चित्रण गर्दै यहाँको प्राकृतिक सौन्दर्य, मौलिक नेवारी संस्कृतिले सजिएको बस्ती, हिमश्रृंखलाको दृश्यावलोकन तथा शान्त वातावरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने प्रचुर आधार रहेको उल्लेख गरे । उनले बन्दीपुरको पर्यटन प्रवर्द्धनमार्फत स्थानीय आर्थिक समृद्धि हासिल गर्न सकिने बताउँदै पूर्वाधार विकास, प्रचारप्रसार र सेवा गुणस्तर अभिवृद्धिमा जोड दिनुपर्ने धारणा राखे ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बन्दीपुरभित्र रहेका सिद्धगुफा, टुँडिखेल, थानीमाई मन्दिर, पुरानो बजार क्षेत्रलगायतका पर्यटकीय स्थलहरूको संरक्षण र प्रवर्द्धनका लागि गाउँपालिकाले विभिन्न योजना अघि बढाइरहेको जानकारी गराए । उनका अनुसार होमस्टे प्रवर्द्धन, पदमार्ग विकास, सरसफाइ अभियान तथा केबलकार परियोजनाजस्ता योजनाले बन्दीपुरलाई अझ आकर्षक गन्तव्य बनाउने लक्ष्य लिइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसीले स्वागत गर्दै बन्दीपुरको समग्र विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।
कार्यक्रममा बन्दीपुरको ऐतिहासिकता, कला–संस्कृति, जीवनशैली र पर्यटन सम्भावनालाई समेटिएको वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो ।
काठमाडौं–पोखरा राजमार्ग नजिकै अवस्थित बन्दीपुरले विगत केही वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न सफल हुँदै आएको छ । यहाँको पुरानो नेवारी शैलीको बस्ती, सफा वातावरण, सूर्योदय–सूर्यास्तको मनोरम दृश्य र स्थानीय आतिथ्यताले बन्दीपुरलाई नेपालको प्रमुख उदीयमान पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरिरहेको छ ।
प्रदेश प्रमुखको यो भ्रमणले बन्दीपुरको पर्यटन प्रवर्द्धन, लगानी आकर्षण र समग्र विकासमा थप टेवा पुग्ने गाउँपालिकाले अपेक्षा गरेको छ ।









